धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारलाई आजै पूर्णता दिने तयारी गरिरहेका छन्। मुख्यमन्त्री शाहले प्रदेशमा दुई मन्त्री र १ राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका हुन्।
यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन्। नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ। भर्खरै सकिएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले पुरानै नाम सदर गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए। ‘हामीले पुरानै नाम सदर गरेका छौँ, आज सात बजे शपथ छ’ उनले प्रतिक्रिया दिए।
यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई सिफारिस गरेको थियो। कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ। बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ। कांग्रेसले पनि आजै नाम टुंगो लगाउने र सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ। ‘आजै सरकार विस्तार हुन सक्छ। अहिले म छलफलमा छु’, मुख्यमन्त्री शाहले बताए। आज साँझ ७ बजे मन्त्रीहरुको शपथ ग्रहण गराइने बताइएको छ।