धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नागरिक उन्मुक्तीलाई सरकारमा सहभागी गराउन काठमाण्डौमा शिर्ष नेतासँग भेटघाटमा बेस्त छन्।
सुदुरपश्चिमका मुख्यमन्त्री शाहसहित अन्यमन्त्री उन्मुक्तीलाई सरकारमा जसरी पनी सहभागी गराउन र ठोस सहमतीका लागी शिर्ष नेतासँग भेटघाट गरिरहेका हुन् ।यसअघि भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश देउवा र उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री रमेश धामी काठमाण्डौं पुगिसकेका र थप मन्त्री सहित मुख्यमन्त्री शाह शुक्रबार काठमाण्डौ गएका थिए । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन छ ।
कृषि मन्त्रालय विगत ७ महिना देखी मन्त्री विहीन रहेको छ भने पृथ्वी बहादुर सिंहको बझाङ् दुर्घटनामा निधन भएपछि कानुन मन्त्रालय पनि मन्त्री विहीन बनेको हो । मुख्यमन्त्री शाहले शनिवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। सभापति देउवासँग मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाहीले भेटेका थिए ।
दुवै मन्त्रालयमा मन्त्री नियुक्त गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग मुख्यमन्त्री शाहले छलफल सुरु गरेका छन्। सुदूरपश्चिममा २ मन्त्रालय नभएसम्म नागरिक उन्मुक्तीले सरकारमा सहभागी नहुने अडान र १ मन्त्रालय र १ राज्य मन्त्री पाउने अवस्थाले मुख्यमन्त्रीलाई सरकार बिस्तारमा सकस परिरहेको छ। भेटमा मुख्यमन्त्री शाहले सत्ता गठबन्धनका शीर्ष नेताहरू बिच चाँडै सहमति भए सरकार विस्तारमा सहज हुने सभापति देउवालाई बताएका थिए । देउवाले पनि छलफल र संवादको माध्यमबाट चाँडै सहमति गरेर सरकार विस्तारमा ढिलो नगर्न सुझाव दिए । यस्तै
सरकार विस्तारको गाँठो फुकाउन काठमाडौँ पुगेको मुख्यमन्त्री सहितको टोलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफल गर्ने तयारी गरेको छ। भोलि प्रधानमन्त्री प्रचण्ड, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र प्रदेश सरकार बिच ठोस छलफल हुने बताइएको छ। मुख्यमन्त्री शाहले रेशम चौधरी आज काठमाडौँ आउने बताउँदै सोमबार प्रधानमन्त्रीसँग उहाँ र हामी बसेर छलफल गर्ने कुरा भएको बताए । केन्द्र तहका शिर्ष नेतासँगको छलफल पछि नागरिक उन्मुक्तिले २ मन्त्रालय पाउने वा १ मन्त्री र १ राज्यमन्त्रीमै सिमीत बन्ने टुङ्गो लाग्नेछ।