धनगढी। ब्राउन सुगर सहित पक्राउ परेका धनगढीका सशस्त्र प्रहरी जवानको जागिर चैट भएको छ।
शनिबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका १० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी)ले धनगढी ३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगरलाई पक्राउ गरेको थियो।धनगढी उपमहानगरपालिका वडा नम्बर ३ घर भएका सशस्त्र प्रहरी जवान ब्राउन सुगर सहित आर आइटीको फन्दामा परेका थिए।
प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। अहिले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाएको छ।उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउनसुगर) फेला परेको थियो। प्रहरी नै यसरी लागुऔषध मुद्दामा समातिएपछि उनको जागिर जाने भएको छ।
यता, सशस्त्र प्रहरीको नम्बर ७ वैद्यनाथ बाहिनी (सुदूरपश्चिमको मुख्यालय) का डिआईजी कुमार न्यौपानेले निज जवान बिदामा घर (धनगढी) आएका बेला पक्राउ परेको जानकारी दिए। उनका अनुसार उनी पक्राउ परेलगत्तै स्वतस् निलम्बित भैसकेका छन्। तर अदालतले सो मुद्दामा सफाइ दिएको अवस्थामा भने निलम्बन फुकुवा हुनसक्ने उनको भनाइ छ।