कञ्चनपुर। कञ्चनपुर बेलौरी नगरपालिका-४ का दिपेश शाहीले मोटो रकम ठगी गरेको आरोप लागेको छ। पोर्चुगल पठाउँछु भन्दै १७ जनासँग पैसा असुल गरेका शाही यतिबेला सम्पर्कविहीन बनेका छन् । पीडितहरुले आज काठमाण्डौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त घटनाको बारेमा जानकारी दिएका हुन्।
शाहीले गत चैत्र २८ गते पोर्चुगल लैजानै भन्दै आफूसहित १८ जनालाई नेपालको एयरपोर्ट हुँदै मस्को पुर्याएको पीडित राम रोकायाले बताए । मस्को पुगेपछि एजेन्ट शाही अर्कै देशतर्फ (बोस्निया) लागेको र अन्य १७ जनालाई प्रवाश नाम गरेका भारतीय एजेन्टले रिसिभ गरेको उनको भनाई छ । उनले भने,‘हामी चैत्र २८ गते दिपेश शाहीको माध्यमबाट पोर्चुगल लान्छु भनेर हामी नेपालको एयरपोर्ट हुँदै मस्को गयौं । मस्को गएपछि प्रवाश भन्ने इण्डीयन मान्छेले हामीलाई एयरपोर्टमा रिसिभ गरेर होटलमा लैजानुभयो,’-पीडित रोकायाले भने । आफुहरुलाई मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौं भनेपनि त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पु¥याईएको उनले बताए ।पीडित रोकायाका अनुसार बेलारुसमा पनि ८/१० दिन राखेर त्यहाँबाट पाकिस्तानी एजेण्टको साथ लगाएर पोर्चुगलका लागि पानी नै पानी भएको बाटोबाट लाट्भिया पुर्याइयो। उक्त समयमा लापिबिया प्रहरीले मोबाईल पनि नियन्त्रणमा लिएको र बेलारुसमै फिर्ता पठाएको उनले बताए ।त्यसपछि आफूहरु अलपत्र अवस्थामा परेको पीडित रोकायाले बताए। आफूहरु एक पाकिस्तानी मानिससँग भएको म्यापको आधारमा बेलारुसको पहिलेकै ठाउँमा फर्किएको उनले बताए। त्यसपछि फेरि १५/२० बेलारुसको होटलमै बसेरको उनले बताए।
आफूहरुले नेपाल फर्काइदिन आग्रह गर्दा जर्मनबाट डिपोर्ट भएर आउनुपर्ने बताउँदै एजेन्टले फेरि पोल्याण्डतर्फ लगेको उनको भनाई छ। पोल्याण्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किँदा त्यहाँको प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर १५ दिन जेलमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइदिएको पीडित रोकायाले बताए। आफूहरुलाई दलालले फसाएपनि अरु नेपाली नफसुन् भन्ने आफूले चाहेको उनले बताए । पोर्चुगल पठाउँछौं भनेर विभिन्न देशमा पुर्याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहित आफूहरुको पैसा फिर्ता होस् भन्ने चाहेको उनले बताए ।‘हामीजस्ता अरु नफसुन् । हाम्रो लगेको पैसा फिर्ता आओस् । उसलाई कानुनी कारबाही होस् भन्ने हामी चाहन्छौं,’– उनले भने।
उनकाअनुसार लामो समय पानी भएको ठाउँमा हिँडेको कारण फर्किएका धेरै व्यक्तिहरु अहिले पनि विरामी अवस्थामै छन् । आफूहरु करिब तीन महिनापछि नेपाल फर्किएको उनले बताए । त्यस्तै, अर्का पीडित कञ्चनपुर बेलौरीका विजय रानाले पोर्चुगल पठाउँछु भनेर गठी गर्ने शाहीलाई उचित कारबाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराए । पोर्चुगल पुर्याएर भनेअनुसारको काममा लगाउन नसके लागेको पूरै पैसा फिर्ता गरिदिने शर्तमा शाहीलाई आफूहरुले पैसा बुझाएको पीडितहरुको भनाई छ। पोर्चुगल जानकालागि आफूले शाहीलाई १४ लाख रुपैयाँ बुझाएको पीडित रोकायाले बताए ।