कञ्चनपुर। कञ्चनपुरस्थीत महाकाली नदीको जलस्तरले सतर्कताको बिन्दु नाघेको छ । भारतीय भूभागमा भएको ठूलो वर्षाका कारण महाकाली नदीको जलस्तर बढेपछि महाकाली नदीमाथि बनेको शारादा व्यारेजमा चार पांग्रे सवारी आवतजावत बन्द गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई देबसिंह बुडालका अनुसार नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि आवत जावत बन्द गरिएको हो।जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा सतर्कताको बिन्दु नाघेको छ।
परिगाउँमा अहिले ५.८७ मिटर पानीको वहाव छ। सो ठाउँमा ५.८ मिटरको बहाव सतर्कताका बिन्दु हो भने ७.०० खतराको बिन्दु हो । नेपालतर्फको पहाडी भूभागमा विगत २४ घण्टामा ठूलो वर्षा भएको छैन । दार्चुलामा पछिल्लो २४ घण्टामा २४ मिलिलिटर वर्षा भएको छ भने जोगबडामा ११ मिलिलिटर । त्यस्तै महाकाली नदीका सहायक नदी चमेलिया, सुर्नयागाड, रुपाली गाड र रंगुन खोलामा पनि जलस्तर सतर्कता बिन्दुभन्दा धेरै कम रहेको विभागको सो प्रणालीले देखाएको छ ।जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।