कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकामा डोजर चलेको छ। नगरपालिका क्षेत्रका सार्वजनिक जग्गा तथा नदीनालाहरुमा अतिक्रम बढेपछि मेयर सुशीला शाहीले डोजर लगाएर अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन आदेश दिएकी हुन् ।
नाला अतिक्रमणका कारण लम्की क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको थियो। केही दिनअघि मात्र नगरपालिकाले अतिक्रमित क्षेत्रमा रेखांकन गरी अतिक्रमण हटाउन सातदिने सूचना समेत सार्वजनिक गरिको थियो। नगरपालिकाले १ नम्वर वडा लम्की बजारको पायनियर्स स्कुल नजिकको नालाबाट अतिक्रमित भएको ठाउँको रेखांकन कार्य सुरु गरेको थियो । आजबाट भने लम्की क्षेत्रमा डोजर चलाएर अवैध संरचना भत्काउन थालिएको हो।
आज लम्कीचुहा वडा नम्बर १ पाइनिर्यस स्कूलको उत्तरपट्टी गेटनजिकैबाट डोजर लगाउर उक्त संरचनाहरु हटाउने कार्य सुरु गरिएको छ।आफुहरु प्रक्रियाका साथ अगाडी बढीरहेका भन्दै संरचना हटाउने काम कोही कसैले नरोक्न र सबैले साथ दिन नगर प्रमुख शाहीले नगरबासीमा आग्रह गरेकी छिन्। आफुले बनाएका संरचना हटाउन लाग्दा केही व्यक्तिहरुले असुन्तुष्टि जनाइरहेका बेला नगर प्रमुख शाहीले भने उक्त कार्य अब कुनै हालतमा नरोकिने बताइन।
यसअघि लम्कीचुहा नगरपालिकाको भुमि ब्यवस्थापन आयोग, लम्कीचुहाका अमिन र नापी कार्यालय टीकापुरको संयुक्त टोलीले जनप्रतिनिधि र स्थानियको रोहोबरमा रेखांकन गरेको थियो । उक्त रेखांकन गरिएका संरचना आजदेखी हटाउन सुरु गरिएका हुन् । घरजग्गा सम्बन्धित केही व्यक्तिहरुले असन्तुष्टि जनाएपनि अतिक्रमित गरि बनाइएका संरचना हटाउने उक्त कार्यको नगरबासीले भने प्रशंसा गरेका छन् ।


