कैलाली। कैलालीको टीकापुर नगरपालिकास्थित घण्टाघर अलपत्र अवस्थामा परेको छ। कैलालीको टीकापुर वडा नंम्बर १ को ब्लक नं. १९ मा दुई वर्षअघि निर्माण सम्पन्न गरेको टीकापुरस्थित घण्टाघर अलपत्र परेको हो।
शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले निर्माण सम्पन्न गरि सात महिनाअघि नै टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। नगरपालिकालाई हस्तान्तरण गरेको भएपनि नगरपालिकाको बेवास्ताका कारण घण्टाघर सञ्चालन नहुँदा अलपत्र परेको बताइएको छ। ३ करोड २६ लाख ४२ हजार रुपैयाँको लागतमा रोयल प्रशंसा जेभी निर्माण कम्पनीले २०७५ फागुन १९ गते घण्टाघर निर्माणका लागि सम्झौता गरेको थियो।
२०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भएपनी कोरोना संक्रमणका कारण २०७८ मा निर्माण सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएको लामो समयसम्म घण्टाघर अझै सञ्चालन आउन सकेको छैन् । घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने र टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था अनुसार घण्टाघर निर्माण गरिएको छ। २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्ने सकिनेछ। पहिलो तलामा रेष्टुरेन्ट सञ्चालन गर्न सकिनेछ भने घण्टाघरमा प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ।
स्थानीयहरू भने घण्टाघरको उचाई निकै कम भएकाले यहाँबाट केही घरबाहेक अन्य दृश्य देख्न नसकिने आरोप लगाउँदै आएका छन्। घण्टाघर नजिकै बस्दै आएका स्थानीय भुपेन्द्र खड्काले खानेपानीको ट्यांकी भन्दा घण्टाघर सानो भएकाले यसबाट दृश्यावलोकन गर्न गाह्रो हुने बताए। उनले पूर्वतिरका केही घर,उत्तरतिरको केही बजार र दक्षिणतिरको खुल्ला मञ्च हेर्न सकिने र अझै दुई चार तला माथि भएको भए टीकापुर पूरै हेर्न सकिने बताए। घण्टाघर नजिकै रहेको खानेपानी ट्यांकी भन्दा होचो रहेको उनको भनाई छ।
निर्माण सम्पन्न भएको लामो समय भइसक्दा समेत सञ्चालनका लागि नगरपालिकाले कुनै पहल नगरेको स्थानीय कृष्ण कडायतले बताए। निर्माण सम्पन्न भएको दुई वर्ष भइसक्दा पनी नगरपालिकाले केही सुरसार नगरेको र राजश्वमा घाटा भइरहेको बताए । यस्तै उक्त आयोजना कार्यालय धनगढीका इञ्जिनियर सन्तोष जेठाराले ७ महिना अघि नै सञ्चालनका लागि नगरपालिकालाई पत्रसहित हस्तान्तरण गरिएको बताए। ६/७ महिना अगाडि नै नगरपालिकालाई पत्रसहित हस्तान्तरण गरिसकेको र सञ्चालन नहुनुका कारण नगरपालिकालाई सोध्नुपर्ने बताए।
घण्टाघर सञ्चालन नहुँदा त्यहाँ प्रयोग गरिएका चारवटा घडी समेत बन्द अवस्थामा छन्। निकै सानो आकारको घडी भएकाले समय हेर्न गाहे हुने बताउँदै स्थानीयहरूले उक्त घडी फेर्न माग गर्दै आएका थिए । सञ्चालन नहुँदा भने तिनै घडी समेत बन्द छन्।टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले घण्टाघर सञ्चालनको तयारी भइरहेको बताए। उनले घण्टाघर सञ्चालनको तयारी गरिरहेको र कार्यपालिकाको बैठकबाट दररेट तय गरेर निर्णय मात्रै बाँकी रहेकाले छिट्टै सञ्चालनमा आउने बताए। उनले दररेट तय गरेर छिट्टै टेण्डर प्रक्रियाबाट सञ्चालनका लागि सूचना प्रकाशित गर्ने गरी काम भइरहेको बताए । यता स्थानियले भ्यु टावरसहित स्थानीय पर्यटकका लागि रिफ्रेस हुने क्यान्टिन भएको घण्टाघर सञ्चालन नहुँदा जीर्ण बन्ने खतरा बढेको बताएका छन्।