धनगढी।कैलालीको धनगढी उपमहानगरपालिकामा अवैध मेडिकल सञ्चालन गरिरहेका ४ जना पक्राउ परेका छन्। हिजो (बिहिवार) धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा धनगढी-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षका दिपक महरा र धनगढी २ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन्।
उनीहरुलाई सामाजिक मन्त्रालय स्वास्थ्य शाखाको टोली र कैलाली प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। केहि दिनअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक पनि अनुमति विना सञ्चालनमा रहेका पाइएको थियो। दुवै जनालाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको छ। उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ।
यसअघि मात्र औषधी व्यवस्था विभाग नेपालगञ्जको नेतृत्वमा गरिएको औषधी पसलको अनुगमनका क्रममा धनगढीका थप दुईवटा मेडिकलमा शिल गरिएको थियो। दुईवटा मेडिकल दर्ता नभएका, सिफासिमा नपरेका औषधी वेच्ने गरेको लगायतका कैफियत भेटिएपछि अनुगमन टोलीले ती मेडिकल शिल गरेको थियो।औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहका अनुसार धनगढी उप महानगरपालिका–७ स्थित जेपि क्लिनिक र सो वडाको एस।आर पाराक्लिनिकलाई शिल गरिएको हो। शाहका अनुसार जेपी क्लिनिक दर्ता नै नगरेको पाइएको र एस।आर पाराक्लिनिले दर्ता नगरिएको र रिफारिस नगरिएका औषधी वेच्ने गरेको भेटिएकाले शिल गरिएको थियो ।