कञ्चनपुर। कञ्चनपुरबाट अवैध अन्तराष्ट्रिय कल, एसएमएस बाइपास गर्ने ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका १८ क्याम्पस रोडमा कार्यालय स्थापना गरेर अवैध अन्तराष्ट्रिय कल, एसएमएस बाइपास गर्ने गिरोहका ३ जना नेपाली र भारतीय नागरिकलाई उपकरणसहित पक्राउ परेका हुन ।
भिमदत्त नगरपालिका – १८ क्याम्पस रोड महेन्द्रनगरको गल्ली नम्बर ५ को एभरेष्ट बैंक लिमिटेड रहेको घरबाट कल बाइपासका लागि चाहिने उपकरणसहित एक भारतीय र दुई जना नेपालीलाई बुधवार प्रहरीले पक्राउ गरेको छ। भारतको नयाँ दिल्लीका ४१ वर्षिय गुल्जार अहमद, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षिय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षिय दिपक बोहरा रहेको प्रहरीले जनाएको छ।
उनीहरुले अन्तराष्ट्रिय कल बाइपास गर्दै आएका खुलेको छ। उनीहरुले चार महिना देखि कार्यालय स्थापना गरेर इन्टरनेटको माध्यामबाट कल बाइपास गर्दै आएका थिए।प्रहरीले सो कोठाबाट ०९९५९७००० को ल्याण्डलाइन, ६० लाइन क्षमताको कनेक्सन उपकरण, गेट वे सर्भरको सिपियू एक थान, वाई फाई राउटर एक थान, वल्र्ड लिंकको वाइफाई राउटर एक थान, ल्यापटप दुई थान, मनिटर एक थान र मोबाइल तीन थानलगायत अन्य उपकरण पनि बरामद गरेको छ। पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर राखिएको छ।