कञ्चनपुर। कञ्चनपुरस्थीत महाकाली नदीको कटान रोक्न स्थानीय अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। महाकाली नदीले कटान गर्न थालेपछि दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका स्थानीयवासीहरु अस्थायी तटबन्ध निमार्णमा जुटेका हुन्।
सो क्षेत्रमा हरेक वर्ष जोगबुढा र महाकाली नदीको दोभान भएका कारण डुबान र कटान हुने गरेको छ । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूका अनुसार नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्ने गरेको छ। नगर प्रमुख लिम्बूले भने ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ त्यसैले यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँु ।
नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको उनले बताए । स्थानीयवासीले अहिले यो क्षेत्रमा रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन्।खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको स्थानीय प्रेम सार्कीले बताए। बाढीको त्रासले बासिन्दाले सुत्न पाएका छैनन् त्यसैले कटान रोक्न स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने सार्कीले बताए ।४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन् ।