काठमाडौँ। निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने २४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना हुने आयोगले ठहर गरेको छ ।
साथै सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ । यसरी खर्च विवरण नबुझाउनेमा बहालवाला मन्त्री, सांसददेखि पार्टीका जिम्मेवार पदाधिकारीहरुसम्म छन् । खर्च विवरण नबुझाउनेहरुको सूचीमा संघीय सरकारका चार मन्त्रीको नाम छ । सनुसरी-१ बाट चुनाव जितेका जसपाका नेता रहेका शिक्षामन्त्री अशोक राई, कञ्चनपुर(२ बाट चुनाव जितेर हाल परराष्ट्रमन्त्री रहेका कांग्रेसका एनपी साउद, लोसपाबाट महत्तोरी-२ मा चुनाव जितेका श्रममन्त्री शरतसिंह भण्डारी र माओवादी केन्द्रबाट सर्लाही-३ मा चुनाव जितेका खानेपानीमन्त्री महिन्द्रराय यादवसमेत छन् ।
खर्च नबुझाउने सूचीमा कांग्रेसका महामन्त्री रहेका काठमाडौं-४ का सांसद गगन थापा, कञ्चनपुर-३ का सांसदसमेत रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ की सांसद सोविता गौतमदेखि महोत्तरी लोसपाका अध्यक्ष महन्थ ठाकुरसमेत छन् । नवलपरासीबाट चुनाव जित्ने अर्बपति व्यपारीसमेत रहेका कांग्रेस सांसद विनोदकुमार चौधरीसमेत समयमा खर्च विवरण नबुझाउनेमा सूचीमा छन्। चुनाव हार्नेहरुमा काठमाडौं-२ माओवादी केन्द्रकी नेता समेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती, माओवादी केन्द्रकै उपाध्यक्ष पूर्वमन्त्री पम्फा भुसाल, उपमहासचिव तथा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले पनि छन्।
काठमाडौं-१ बाट चुनाव लडेका राप्रपाका रवीन्द्र मिश्र, एमालेका किरण पौडेल, काठमाडौं-४ बाट चुनाव लडेका एमालेका राजन भट्टराईले पनि खर्च विवरण नबुझाएपछि १५ हजार जरिवानामा परेका छन्। कांग्रेस विजयकुमार गच्छदार, उमाकान्त चौधरीदेखि पूर्वमन्त्री हृदयेश त्रिपाठीसम्मले समयमा खर्च विवरण नबुझाएको सूचीमा छ। हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ। यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभाअन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो।Press_release_2080.04.09 (1)