काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेका २२ मध्ये ५ जना निरन्तर अस्पतालमा रहेका छन्। ६९ वर्षीय मीनबहादुर गुरुङ, ७० वर्षीय सुधीर शाह, ८२ वर्षीय धर्मप्रसाद गौतम,४८ वर्षीय सिद्धिका खेतान र ७७ वर्षीय कलाधर देउजा अस्पतालमा छन्।
यीमध्ये गौतमलाई २४ सै घन्टा अक्सिजन दिनुपर्छ। अन्यमा पनि अक्सिजन लेभल तलमाथि भइरहने बताइएको छ। अस्पतालमा रहेकामध्ये देउजा क्यान्सर चौथो स्टेजका बिरामी हुन्। गौतमलाई पनि प्रोस्टेट, दमलगायतको समस्या रहेको बुझिएको छ।
यस्तै शाह पनि प्रोस्टेटका बिरामी हुन्। प्रेसर, सुगरलगायत समस्या रहेका मीनबहादुरले केही दिनभित्रै आँखाको अप्रेसन गर्दैछन्।यसअघि गुरुङ, शाहसहित ४ जनालाई पहिलोपटक अदालतमा म्याद लिन लैजाँदा उनीहरुलाई स्लाइनसहित उपस्थित गराइएको थियो।हालै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेपछि ललिता निवास प्रकरणमा संलग्नहरुलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई बाटो खुलेको थियो।
सीआईबीले सरकारी लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।ललिता निवास प्रकरणमा पक्राउ परेकालाई हिरासतमा राख्न थालिएको मंगलबार २९ दिन भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा प्रहरीले निर्णय प्रक्रियामा सहभागी हुनेहरु, बिचौलिया, मोहीलगायतलाई पक्राउ गरिरहेको छ।