धनगढी। निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलाली प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन्।
मुख्यमन्त्री शाह र प्रजिअ कट्टेललाई प्रदेशका अध्यक्ष लक्ष्मण स्वाँरले ज्ञापनपत्र बुझाएका हुन् ।निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सो ज्ञापनपत्रमा उल्लेख छ। त्यस्तै चुनाव र सरकार परिवर्तन लगायतका कारण गतवर्ष निर्माण व्यवसायीहरुले भुक्तानी पाउन नसकेकाले निर्माण कम भएको अध्यक्ष स्वाँरले बताए ।
सरकारको अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरुले पठाएको १० अर्बभन्दा बढी उठिसकेको (दायित्व सिर्जना भइसकेको) बिलको भुक्तानी भैसकेको छैन् । यस्तै देशभर ५० अर्बको रनिङ् अथवा चलिरहेको पोजेक्टको काम गर्ने अवधी सकिएकाले थप समयको माग गरिएको छ। सरकारले थप समय नदिदा निर्माण कार्यमा ढिलासुस्ती भैरहेको छ। यस्तै निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारेमा बारम्बार सरकारलाई जानकारी गराउँदा सरकार उदासीन बनेको आरोप निर्माण व्यवसायीको छ।