अछाम। अछाममा फोहोरबाट बायोग्यास निकालेर स्थानीयलाई निःशुल्क रूपमा वितरण गर्न थालिएको छ । अछामको मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण गरेको हो। बायोग्यास प्लान्टबाट निस्केको बायोग्यास पाइपलाइनबाट घर घरमा पु-याउने कार्य भइरहेको छ ।
यस नगरपालिकाको वडा नम्बर–६, तेसिङ्गेमा ‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ। बायोग्यासबाट दाउराको सट्टा घरमा आगो बाल्न तथा खाना पकाउन सहज भएको तेसिङ्गेका स्थानीय ताराप्रसाद भण्डारीले बताए । “घरमा ग्यास जडान भयो, अब दाउराको दुःख जान्या भयो,” भण्डारीले खुसी हुँदै भने।
घरमा बायोग्यासको पाइपलाइन जडानसँगै ग्यास चुलोसमेत पाइसकेको उनले बताए। कतिपयको घरमा भने ग्यासको पाइप जडान कार्य जारी छ । पालिकाले नमुनायोग्य कार्य गरेको भनाइ स्थानीय नगरवासीको छ। स्थानीय रङ्गप्रसाद भण्डारी आफूहरू ‘डम्पिङ साइट’ प्रभावित क्षेत्रको बासिन्दा भएकाले बायोग्यास सेवा लिनेमा पहिलो प्राथमिकतामा परेको बताए । अहिले पाँच घरमा ग्यास पाइप जोडेर खाना पकाउन सुरु गरिएको छ ।
वडाध्यक्ष देवेन्द्रप्रसाद भण्डारीले अन्य घरमा बायोग्यास जडानको काम भइरहेको जानकारी दिए । फोहोरबाट निकालिएको बायोग्यासलाई ७० घरधुरीमा निःशुल्क रूपमा वितरण गर्ने योजना रहेको उनले बताएका छन् । उक्त कार्यमा नगरको ससर्ततर्फको १० लाख, ऊर्जाको आठ लाख २० हजार रकम खर्च भएको छ । फोहोरको सङ्कलन, ग्यास उत्पादनको अवस्था र प्राविधिक विश्लेषण गरेर उपभोक्ताको सङ्ख्या बढाउने योजना रहेको जनाइएको छ।गोरखापत्र