धनगढी। नेपाल पत्रकार महासंघ कैलाली शाखाले श्रमजीवी पत्रकारको तलब समयमै दिन कैलालीमा सञ्चालित आम सञ्चार माध्यमहरूलाई अपिल गरेको छ।
शाखाले निरन्तर काम गर्दै आइरहेका सञ्चार कर्मीलाई सम्बन्धित सञ्चार गृहले उनीहरुले पाउनुपर्ने तलब रकम समयमा नपाएको गुनासो आउन थालेपछि सोमबार एक वक्तव्य जारी गर्दै अपिल गरेको हो। नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीद्वारा जारी अपिल वक्तव्यमा भनिएको छ, “पत्रकार महासंघ पत्रकारका समस्या, सुरक्षा लगायतका बारेमा वकालत गर्दै आइरहेको छ । पछिल्लो समय कैलाली जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले लामो समयदेखि पारिश्रमिक नपाएको गुनासो नेपाल पत्रकार महासंघ कैलाली शाखामा आएको छ ।
देशभर नै विभिन्न क्षेत्रमा आर्थिक मन्दी देखिएकाले यसबाट सञ्चारमाध्यम पनि अछुतो छैनन् तर पनि लामो समयसम्म काम गर्दा पनि पारिश्रमिक नपाउँदा श्रमजीवी पत्रकारहरूलाई घर खर्च चलाउन पनि गाह्रो भइरहेको छ । निरन्तर काम गर्दै आइरहनु भएका सञ्चार कर्मीलाई सम्बन्धित सञ्चार गृहले उहाँहरूले पाउनुपर्ने तलबको व्यवस्था गरिदिन अपिल गर्दछौँ ।” यस्तै, शाखाले अपिलमार्फत निरन्तर काम गर्दै आउनु भएका सञ्चार कर्मीहरूले आफूले पाउनु सेवा कहिले देखि नपाएकोबारे महासंघमा जानकारी गराउन पनि आग्रह गरेको छ भने श्रमजीवी पत्रकारले पाउने तलब भुक्तानी नगरे महासंघ निरन्तर श्रमजीवी पत्रकारका पक्षमा कदम चाल्ने पनि जानकारी गराएको छ।