धनगढी। कैलालीमा जेलरले रूपैयाँ लिएर कैदीलाई भगाएको आरोप लागेको छ। लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कैलाली गौरिगंगा नगरपालिका ९ का इश्वर पौडेलबाट कारागार प्रमुख पदमराज तिमिल्सेनाले रूपैयाँ लिएर भगाएको कारागार स्रोतले बताएको हो।
पछिल्लो समय जेलर तिमिल्सेना प्रति कैदीबन्दी असन्तुष्ट रहेको एक जना कैदीले बताएका छन्। तिमिल्सेनाले मोटो रकम लिए, तिमीहरूलाई जेलबाट भगाइदिने भन्दै आएको नाम नबताउने सर्तमा ति कैदीले बताए। ३४ ग्राम लागूऔषध खैरो हिरोइनसहित पारस बम, राम सिराडी र इश्वर पौडेल चार महिना अगाडि पक्राउ परेका थिए। पक्राउ परेका मध्ये जेलर तिमिल्सेनाले पौडेलबाट रूपैयाँ लिएर भगाएको आरोप छ।
यस विषयमा जेलर तिमिल्सेनालाई बुझ्दा उनले कैदी पौडेललाई छोडेको स्वीकार गरेका छन्। उनले आफूले रूपैयाँ नलिएको दाबी गरे । इश्वर पौडेल १५ ग्राम लागूऔषध खैरो हिरोइनसिहत पक्राउ परेको मुद्दामा सफाइ पाएको आधारमा छोडेको र ३४ ग्राम खैरोहिरोइनसहित पक्राउ परेको मुद्दामा भने सफाई नपाएको बताए। एक सातादेखि खोजी भइरहेको उनले बताए ।