कैलाली। त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका सुदुरपश्चिमका १५ सहित देशका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ। विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएकोमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको खारेजीको प्रक्रिया थालेको हो।
१५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ। त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन्। दोस्रो जनआन्दोलनयता विश्वविद्यालयले मनोमानी सम्बन्धन बाँडेको थियो। पछिल्ला वर्षहरुमा ती क्याम्पस विद्यार्थी अभावमा संकटमा रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ। त्रिविसहित अन्य विश्वविद्यालयका करिब साढे ५ सयवटा क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी अध्ययरत छन्।
त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको छ। योजना निर्देशनालयका निर्देशक ध्रुवकुमार गौतमले ८ सय ८२ क्याम्पस नवीकरण प्रक्रियामा आइसकेको जनाए । त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो। सुदुरपश्चिमका १५ कलेजसहित क्याम्पस खारेजीको प्रक्रिया परेका छन्। जस अनुसार कैलालीको धनगढी ५ मा रहेको पश्चिम सेती कलेज, नारायणपुर ८ सतीस्थीत कर्णाली बहुमुखी क्याम्पस, कञ्चनपुर सुडामा रहेको घटाल बहुमुखी क्याम्पस,शिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, कञ्चनपुर २ को उदय सरस्वती क्याम्पस,भारिती कलेज महेन्द्रनगर रहेका छन् ।
यस्तै डोटीको छतिवन २ बुडरमा रहेको छहरा क्याम्पस, दिपायल क्याम्पस सिलगढी, अछामको जनता बहुमुखी क्याम्पस भागेश्वर,बझाङ्गको खपरदेव क्याम्पस कालुखेती छान्ना, शान्तीदिप बहुमुखी क्याम्पस कुश्मी सेरा, डडेल्धुरा ५ अमरगढीमा रहेको माउन्टेन महुमुखी क्याम्पस, बैतडीको निग्लाशैनी क्याम्पस देहीमाण्डु,रौलाकेदार बहुमुखी क्याम्पस रौलेश्वर, शंकर बहुमुखी क्याम्पस मुलखर्ली को खारेजीको प्रक्रिया अघि बढेको हो। तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने योजना निर्देशनालयका निर्देशक ध्रुवकुमार गौतमले बताए । कुनै क्याम्पस नवीकरण प्रक्रियामा भए प्रमाणसहित सर्म्पकमा आउनु पर्ने उनले बताए ।
क्याम्पसहरु डिन कार्यालयमार्फत नवीकरण हुने व्यवस्था छ। ९ वटा डिन कार्यालय रहेका छन्। क्याम्पस समायोजनका लागि असार मसान्तसम्म आवेदन दिन आह्वान गरिएको थियो । ४ वटा क्याम्पस समायोजन भइसकेको उनले जनाए। केही आवेदनहरु आएकाको समायोजनको म्याद थप गर्ने निर्णय भइसकेको गौतमले बताएका छन्। क्याम्पस समायोजनका लागि दुवै संस्थाका सञ्चालक समितिको निर्णय चाहिनेलगायत लामो प्रक्रिया भएकाले कार्यकारी परिषद्ले म्याद थप गर्ने निर्णय गरेको हो। ७६ जिल्लामा त्रिविका सम्बन्धन प्राप्त क्याम्पसहरु सञ्चालनमा रहेका छन्। धेरै क्याम्पस भएका कारण विश्वविद्यालयबाट नियमित अनुगमन र नियमन समेत हुन सकेको छैन। विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार विद्यार्थी संख्या थोरै भएर बन्द हुने अवस्थामा पुगेका क्याम्पसहरु पनि त्रिविकै धेरै छन् ।
सबै विश्वविद्यालयका गरी १ हजार ४ सय ४० आंगिक, सामुदायिक र निजी क्याम्पस संचालनमा रहेका छन्। तीमध्ये ३ सय निजी, २ सय १८ सामुदायिक र २१ वटा क्याम्पसमा १ सयभन्दा थोरै विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी थोरै भएका सामुदायिक र निजी क्याम्पसले अध्यापक, कर्मचारीलाई नियमित तलब सुविधा पनि दिन सकेका छैनन्। देशभर ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र डेढ सय आंगिक क्याम्पस संचालनमा छन् । आयोगले पनि समायोजन नीति लागू गर्ने तयारी गरिरहेको छ।