धनगढी। सुदूरपश्चिम सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटमा योजनाहरु नसमेटिएको भन्दै आफूलाई वडामा बहिस्कृत गरिएको एक सांसदले बताएकी छिन्। मङ्गलबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथी छलफलका क्रममा बोल्दै राप्रपा सांसद खेमादेवी बिष्टले सो कुरा बताएकी हुन्।
असार १ गते प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । उनले भनिन्, आफूले बुझाएका योजनाहरू बजेटमा नआएपछि विगत २५ दिनदेखि घर बाहिर निस्कन नसक्ने अवस्था छैन्,। ‘हामी त्रासपूर्ण वातावरणमा बसिरहेका छौं । हिजो २५ गते बाहिर निस्केका छौं । बाहिर निस्किने वातावरण छैन । हामीलाई नगरसभामा बहिस्कार गरिएको छ । वडामा बहिस्कार गरिएको छ । हाम्रो क्षेत्रमा हिँड्ने अनुमति छैन। हामी कहाँ जाने रु यो २६ गतेसम्म घरमा मात्रै बसेको छु’, उनको भनाइ थियो, ‘हामीलाई त्रासपूर्ण वातावरणमा बस्न बाध्य पारियो । मन्त्रीज्यू, यसको जिम्मा कसले लिने रु’
आफूहरूले प्रत्यक्ष जनताका सरोकारका योजना उपलब्ध गराउँदा पनि सरकारले सम्बोधन नगरेको विष्टको गुनासो थियो । मेयरको तोक लगाएर जिल्ला समन्वय समितिमार्फत पठाएको र आफ्नै लेटर प्याडमा लेखेका योजनाहरू नपरेको भन्दै उनले आक्रोश पोखिन् ।‘खुट्टामात्रै ढोग्न बाँकी राखेका थियौं । त्यसरी योजना पेस गर्यौं । तर, एउटा पनि योजना परेन । भौतिक मन्त्रालयमा ४४ वटा योजना पठाएको थिएँ । एउटा पनि परेन । अरूबाट पनि परेन’, उनले गुनासो गरिन् ।
५ करोड आवश्यक पर्ने सडकमा ५ लाख उपलब्ध गराएको भन्दै उनले शीर्षक संशोधन गर्न माग गरिन् ।प्रदेश सांसद बिष्टले बजेट पूर्ण रुपमा संशोधन गर्न पनि माग गरिन् । बजेट संशोधन नभए पास हुन नदिने उनले चेतावनी दिएकी छिन् । सरकारले असार १ गते चालुतर्फ नौ अर्व ५९ करोड ६० लाख दुई हजार तथा पुँजिगततर्फ १७ अर्व दुई करोड २३ लाख ६० हजार गरि २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो।