कञ्चनपुर। कञ्चनपुरबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा नाकाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
सोमबार बेलुका ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डको टोलीले ३ सय ९० मिलिग्राम खैरो हेरोइनसहित भारतको लखिमपुर, खिरीबनगाउँका २० वर्षीय राज राना र सोही ठाउँका २१ वर्षीय आकाश रानालाई पक्राउ गरेको छ।
दुबै जनालाई शंका लागेर जाँच गर्दा दुबैको साथबाट खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ परेका राजको साथबाट शुद्ध तौल गर्दा २ सय १० मिलिग्राम र आकाशको साथबाट १ सय ८० मिलिग्राम खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ।
यसअघि पनि पुनर्वास प्रहरीले शनिवार राती खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको थियो। २ सय १० मिलिग्राम खैरो हेरोइनसहित टाउँके बजारका १७ वर्षीय अभिषेक चौधरी पक्राउ परेका थिए।खैरो हेरोइनसहित पक्राउ पर्ने क्रम पछिल्ला दिनमा बढेको छ। सीमावर्ती भारतीय बजारहरुमा लागूऔषध सजिलै पाइने गरेकाले जोखीम बढेको स्थानियले बताएका छन् ।

