धनगढी। सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ। डोटीको रुवसकाँडामा १ सय ३२ केभी प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ।
विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले आइतवार बिहानदेखि दार्चुला बाहेकका ६ पहाडी जिल्लाको विद्युत सेवा बन्द भएको बताए। अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको हो। मुख्य लाइनको तार टुट्दा स्याउले सव स्टेशनमार्फत् प्रशारण हुने पाहाडका सबै जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो।
मर्मतका लागि डडेल्धुरा र अत्तरियाबाट प्राविधकसहितको टोली रुवसकाँडातर्फ गएको छ। ‘विद्युत सेवा सञ्चालन गर्न एक घण्टा पनि लाग्न सक्छ र केही समस्या भए ५/६ घण्टा पनि लाग्नसक्ने नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले जानकारी दिए। विद्युत सेवा अवरुद्ध हुँदा पहाडी जिल्लाका उपभोक्ता समस्यामा परेका छन्।