कैलाली। कैलालीको अत्तरिया बसपार्कमा पार्किङ शुल्क उठाउन ठेकेदार छनोट गरिएको छ। नेपाली सेना मातहत रहेको जग्गामा निर्माण गरिएको बसपार्कलाई गोदावरी नगरपालिकाले आगामी आर्थीक बर्षका लागि ठेकेदार छनोट गरेको हो ।
बसपार्कमा पार्कीङ शुल्क उठाउनको लागि भैरवकाली निर्माण सेवालाई छनोट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताएका छन। उक्त निर्माण सेवाले बसपार्क ठेक्का वाफत आर्थीक बर्ष २०८०/०८१ मा नगरपालिकालाई १ करोड ३ लाख ५१ हजार १११ रुपैयाँ बुझाउने कबोल गरेको छ ।
यस्तै नगरपालिकाले कवाडी कर संकलनका लागि सोनु राज एण्ड ट्रेड सप्लायर्स धनगढीलाई स्विकृत गरेको छ । उक्त फर्मले आर्थीक बर्ष २०८०÷०८१ मा नगरपालिकालाई १ करोड १० लाख ५१ हजार बुझाउने छ । दुवै फर्मलाई नगरपालिकाले आगामी आर्थीक बर्षका लागि स्विकृत गरेको भएपनि सम्झौता गर्न भने बाँकी रहेको छ ।
नगरपालिकाले बसपार्क र कवाडी कर संकलनका लागि जेठ १४ गते बोलपत्र आह्वान गरेको थियो । जसमा बसपार्कको पार्कीङ शुल्क संकलनका लागि न्यूनतम ६२ लाख राखिएको थियो भने कवाडी करका लागि न्यूनतका ४४ लाख रकम तोकिएको थियो । अत्तरिया बसपार्कबाट नगरपालिकाले आर्थीक बर्ष २०७६/०७७ देखि ठेक्का मार्फत पार्किङ शुल्क उठाउँदै आएको छ । सो बर्ष पार्किङ शुल्क बाफत नगरपालिकाले ९८ लाख आम्दानी गरेको थियो । आर्थीक बर्ष २०७७/०७८ मा भने कोरोना महामारीका कारण बसपार्क ठेक्कामा नलागेपछि नगरपालिकाले आफैले ३० लाख रकम संकलन गरेको थियो ।
आर्थीक बर्ष २०७८/०७९ मा ५२ लाख ५ सय १ रुपैयाँमा ठेक्कामा लागेको बसपार्कबाट नगरपालिकाले चालु आर्थीक बर्ष २०७९/०८० मा भने ८६ लाख १ सय १ रुपैयाँ आम्दानी गरेको छ । २०६० सालदेखि बसपार्क व्यवस्थापन समिति मार्फत संचालित अत्तरिया बसपार्क २०७५ साउन १ गते देखि भने नगरपालिका मातहतमा संचालन हुँदै आएको छ । अत्तरिया बसपार्कको भोगचलन नगरपालिकाले गरिरहेको भएपनि उक्त बसपार्क नेपाली सेनाको नाममा रहेको छ ।
नेपाली सेनाले अत्तरिया बसपार्क लामिताल सहित १७ हेक्टर जमिन आफ्नो नाममा रहेको बताउँदै आएको छ । गत बर्ष नेपाली सेनाको देवीदल गणले बसपार्कमा ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ लेखिएको बोर्ड समेत टासेको थियो । नगरपालिकाले भने उक्त जमीन नगरपालिका मातहत ल्याउने प्रयास जारी रहेको जनाउँदै आएको छ । अत्तरिया बसपार्कबाट बर्षेनी पार्कीङ शुल्क बाफत रकम उठाइँदै आइएको भएपनि कालोपत्रे भने हुन सकेको छैन ।