काठमाडौँ। ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप तीन जनालाई पक्राउ गरेको छ। ब्युरोका एक अधिकृतले दिएको जानकारी अनुसार तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको हो।
महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा-४ का तत्कालिन वडासचिव ( हाल महानगरका अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए । कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो ।
सरकारी लिखत किर्ते मुद्दामा उनीहरूलाई पक्राउ गरिएको ती अधिकारीले जानकारी दिए । ब्युरोले यसअघि ४ जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या ७ पुगेको छ । सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।