धनगढी। धनगढीमा बर्षातको समयमा हिलो र खाल्टाखुल्टीले आवागमन समस्या पार्न थालेपछि उपमहानगरले ग्राभेल हालेर सडक मर्मत गर्न थालेको छ। धनगढीका मुख्य तथा भित्री सडकहरुमा स्थानियलाई आवत जावतमा समस्या हुन थालेको भन्दै धनगढी उपमहानगरले ग्राभेल तथा माटो भरान गरेर आवतजावतलाई सहजता बनाउन थालेको हो।
यसैबिच धनगढी उपमहानगरपालिका–१५ वडा कार्यालयदेखि वडा नं १६ भादा जोडने कालोपत्रे सडकसम्मको उर्मा सडकमा ग्राभेल गरिएको छ। उर्मा मन्दिर जाने बाटो हुँदै शिव पार्वती मन्दिरसम्मको बाटोमा ग्राभेल गरि वैकल्पिक बाटो निर्माण गरिएको हो । केही दिन अगाडि वडा कार्यालय र स्थानीयले होमपाइप राखेपछि हिलोले यात्रुलाई आवगमनमा समस्या भएको शुक्रबार सामाजिक सञ्जालका पोष्टहरूद्वारा जानकारी पाएपछि आज अवागमन सहज बनाउन ग्राभेल हालेर सडक मर्मत गरिरहेको मेयर गोपाल हमालको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार धनगढी उपमहानगरपालिका–१५ वडा कार्यालयदेखि वडा नं १६ भादा जोडने कालोपत्रे सडकसम्मको सडक, सडक विभागअन्तर्गतको निर्माणाधीन सडक हो। धेरै पटक सडक विभाग र निर्माण कम्पनीलाई आग्रह र गुनासो गर्दा पनि समयमै निर्माण नभई रहेको र २ महिना अगाडि देखि नै स्थानीय तथा यात्रुलाई आवगमनका लागि समस्या देखिएकाले उपमहानगरपालिकाले उर्मा मन्दिर जाने बाटो हुँदै शिव पार्वती मन्दिरसम्मको बाटोमा ग्राभेल गरेको थियो।
यस्तै मेयर गोपाल हमालले धनगढीका अधिकांस ठाउँमा सडक निर्माण कार्य भईरहेको हुँदा कतिपय ठाउँमा सडक हिलाम्मे भएको बताए। उनले बर्खाको सिजन भएकोले निर्माणमा समस्या भएपनी उपमहानगरको जनशक्तिले सक्ने जति सहज बनाउने प्रयास गरीरहेको बताए। उनले सकेसम्म निर्माण भईरहेको सडकलाई सहज आवागमन बनाउन निर्माण कम्पनीलाई आग्रह गरिरहेको मेयर हमालले जानकारी दिए । उनले अहिले धनगढीको मुख्य सडक पनि निर्माणको क्रममा रहेकाले पनी पानीको निकास हुन नसकेको बताए। त्यसले गर्दा आवागमनमा समस्या भएको तर निर्माण कम्पनीलाई सहज बनाउन अनुरोध गरेको उनले जानकारी दिएका छन्।