कैलाली। सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो नगरपालिका हो टीकापुर नगरपालिका। कैलालीको टीकापुर नगरपालिकाले एक वर्षमा ४० लाख रुपैयाँ खाना खर्च गरेको महालेखा परीक्षक कार्यालयले जनाएको छ।
महालेखा परीक्षकको कार्यालयबाट हालै सार्वजनिक लेखा परीक्षण प्रतिवेदनका अनुसार सो नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा ४० लाख ८९ हजार ३ सय ३२ रुपैयाँ खानामा खर्च गरेको छ। खाना खर्चबाहेक नगरपालिकाले सो आर्थिक वर्षमा जनप्रतिनिधिलाई सुविधावापत ८४ लाख ७२ हजार रुपैयाँ बाँडेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ।
प्रतिवेदनमा जनप्रतिनिधिले कुन शीर्षकमा कति रकम बुझे भन्ने विवरण उपलब्ध नगराएको पनि उल्लेख छ।सभा सञ्चालनकै लागि मात्र एक वर्षमा टीकापुर नगरपालिकाले ११ लाख ५१ लाख ९ सय २६ रुपैयाँ खर्च गरेको छ।आर्थिक वर्ष २०७७/०७८ मा टीकापुर नगरपालिकामा ६ करोड ६ लाख ७१ हजार बेरुजु देखिएको छ, जसमध्ये १ करोड १० लाख २ हजार असुलउपर गर्नुपर्ने बेरुजु रहेको छ। सो आर्थिक वर्षमा टीकापुरको कूल बजेट १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। नगरपालिकाको बेरुजु ६ प्रतिशत देखिएको छ। यो सुदूरपश्चिममैं सबैभन्दा धेरै बेरुजु पाइएको छ ।