धनगढी। धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्म मुख्य सडक निर्माणका लागि शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज कैलाली पुलदेखि क्याम्पस चोक सडकको शिलान्यास गरेका हुन्।
प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा बैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको छ। २ किलोमिटर ३ सय मिटर लम्बाईको मुख्य सडक ३० मिटर चौडा बन्नेछ। दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरि धनगढीको केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । १४÷१४ मिटरको मुख्य सडकको दायाँबायाँ डेढ÷डेढ मिटरको खानेपानी र टेलिफोनका लागि अन्डरग्राउण्ड पास हुने ईन्जिनियर भट्टले बताए।
उनले सडकको बीचमा २ मिटरको डिभाइडर समेत रहने बताए। कैलाली पुल–क्याम्पस चोक सडक निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्री देउवाले उद्घाटन गरेका हुन्। मेयर गोपाल हमालले उक्त सडक खण्डमा पर्ने पक्की भौतिक संरचना भत्काउन घर धनीहरुलाई अपील गरेका थिए । बिना कुनै रोकावट सबै घरधनीहरुले आफैँ घर भत्काएर सडक निर्माणमा सहज गरेको स्मरण गर्दै मेयर हमालले सबैलाई धन्यवाद दिदै निर्माणमा सहज गर्ने घर धनीलाई सम्मान गर्ने बताएका थिए।
शिलान्यास तथा सडक उद्घाटन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको उपस्थीती रहेको थियो । यस्तैउपप्रमुख कन्दकलाकुमारी राना, भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्ट वडा अध्यक्षहरू, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। साथै धनगढी उपमहानगरपालिकाले ४ सय २८ जना घर धनीलाई सम्मान गरेको छ। मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैं भत्काउने घर धनीलाई उपमहानगरले सम्मान गरेको बताइएको छ ।