धनगढी : सुदूरपश्चिम प्रदेश युवा परिषद्ले उत्कृष्ट विचार राख्ने युवालाई पुरस्कृत गरेको छ । आइतबार प्रदेशका विभिन्न स्थानीय तहबाट आएका युवाहरूबीच नवप्रवर्तनात्मक विचार प्रतियोगिताको आयोजना गरेर परिषद्ले उत्कृष्टलाई पुरस्कृत गरेको हो ।
परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुवंरले स्थानीय तहलाई पालिकामा नयाँ सोच, विचार र प्रयोग गरिरहेका युवालाई सहभागी गराइदिन सूचना पठाइएको बताए । उनले स्थानीय तहले सिफारिस गरेर पठाएका विभिन्न जिल्लाका ५ जनाबाट उत्कृष्ट छनोट गरिएको बताए ।
प्रतयोगितामा कृषिमा युवाले काम गर्न सक्ने सम्भावनाबारे अधिकांशले विचार राखेका थिए । डडेलधुराको गन्यापधुराका टंक प्रसाद अवस्थी र
अछामको साँफेका शंकरप्रसाद खनालले सान्त्वना पुरस्कार पाए ।
गन्यापधुराकै विनिता भट्टले तृतीय स्थान हासिल गरिन् । गन्यापधुराकै हेमा भट्ट द्वितीय भइन् । कञ्चनपुरको पुनर्वाशका प्रकाश गैह्रे प्रथम भए । फोहर व्यवस्थापनका विषयमा अहिले धेरै माग भएको स्मार्ट डस्टबिन बनाउने र बजारीकरण गर्ने आविष्कार पेस गरेका उनले नगद १५ हजार पुरस्कार पाए ।