काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउन मात्रै अलमलिएको बताएका छन् । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै अर्को गठबन्धन बनाउनुपरेको बताए।
साथै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको लामिछानेले आरोप लगाए । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने र मुलुकको महत्वपूर्ण मुद्दामा केन्द्रित नभएर सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।
‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहने भन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि रु भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु । नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेका थियौं । कारण के थियो भने–जुन ढंगले यसको इन्भेस्टिगेसन भइरहेको थियो त्यहाँ इन्भेस्टिगेसन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए । अनेक कुराहरु आए । तर, त्यस विषयमा छानबिन अगाडि बढ्न सकेन । र अहिले जुन ढंगले छानबिन सकिएको त छैन । तर, जुन परिणामहरु आइरहेको छ त्यसले हाम्रा प्रश्नहरुको उत्तर नै दिन सकेन, लामिछानेले भने ।
उक्त प्रक्रिया अगाडि बढ्ने वातावरण नदेखिँदा सरकार अल्मलिएर गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लागेको उनको आरोप थियो । महत्त्वपूर्ण विषय ओझेल परिरहँदा सरकारमा आबद्ध दलहरूले नै गठबन्धन निर्माण गरेकोमा उनको आपत्ति थियो। अब यो के हो ? बुझ्न जरुरी भयो । त्यही गठबन्धनभित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकारभित्रै सहभागी दलहरु मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरु ओझेलमा पर्नु । यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिएँ । प्रधानमन्त्री धेरै कुरामा अल्झिनु भयो,’ उनले भनेका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार कम्युनिस्ट घटकहरूले गत सोमबार समाजवादी मोर्चाको घोषणा गरेका थिए । जसमा सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी आबद्ध छन् ।उनीहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेको जनाएका छन् ।