कञ्चनपुर। कञ्चनपुरका स्थानीय सरकारले एक वर्षमै खाजा र खानामा करोडौँ रुपैयाँ स्वाहा पारेका छन्। जिल्लाका ९ पालिकाले आर्थिक वर्ष ०७८/७९ मा खाना र खाजामै करोडौँ स्वाहा पारेका महालेखाले औँल्याएको छ।
महालेखाको वार्षिक प्रतिवेदनअनुसार जिल्लाका दुई गाउँपालिका र सात नगरपालिकाले खाना र विविध शीर्षकमा दुई करोड ५४ लाख ६३६ रुपैयाँ खर्चिएका हुन्। सबैभन्दा बढी बेलौरी नगरपालिकाले ४७ लाख ७६ हजार ८१० रुपैयाँ र कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३२४ रुपैयाँ खर्चिएका छन्।
त्यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९६४, बेदकोट नगरपालिकाले ३१ लाख ४६ हजार २८५, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ३५, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार, दोधाराचाँदनी नगरपालिकाले १६ लाख ७६ हजार ८१८, लालझाडी गाउँपालिकाले १६ लाख ३४ हजार र बेलडाँडी गाउँपालिकाले १० लाख ३४ हजार खाजा–खानामा खर्च गरेको छ। वर्ष दिनमै स्थानीय सरकारले करोडौँ रकम खाना खाजामै खर्चिने प्रवृत्तिले भ्रष्टाचार मौलाएको देखिन्छ।
सरकारले सुरक्षा निकायतर्फका कर्मचारीलाई रासन उपलब्ध गराए पनि स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई रासन सुविधा दिएको छैन। तैपनि जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा खाना, खाजा खर्चको बिल पेस गरेर पालिकाबाट लाखौँ रकम खर्चिएका छन्। खाना शीर्षक राखेर मदिरासहित विलासिताका वस्तुमा समेत खर्च हुने आरोपसमेत लाग्ने गरेको छ।खाना–खाजामा सबैभन्दा बढी खर्च गरेको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी खाना–खाजाका लागि खर्च नहुने बताउँछन्।
‘खाना–खाजा खर्च शीर्षक हुँदैन। विविध भन्ने हुन्छ,’ उनले भने, ‘मैले जिम्मेवारी पाएदेखि कडाइ गरेको छु। हाम्रोमा बाहिरबाट न खाना आउँछ, न खाजा।’ यता, लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट आफूले जिम्मेवारी सम्हालेदेखि यस्ता खर्चमा कडाइ गरेको बताउँछन्। ‘यो (पालिका कार्यालय) राजनीतिक अड्डा हो, यहाँ थुप्रै किसिमका पाहुना आउँछन्, उनीहरूको स्वागतदेखि खाना, खाजामा खर्च गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैमा खर्च भएको होला। तर, यो त बढी नै भएको हामीले पनि महसुस गरेका छौँ।’नयाँ पत्रिकाबाट