धनगढी । सरकारले आफै गरेको निर्णय बिरुद्ध बजेट ल्याएपछि आन्दोलनमा उत्रेका सुदूरपश्चिमबासीहरु सरकारलाई बिश्वास गर्न सक्ने स्थितीमा छैनन् ।
गेटामा सहिद दशरथचन्द स्वास्थ्य, बिज्ञान बिश्वबिद्यालय बनाउने निर्णय गरेको सरकारले बजेट बक्तब्यमा १ सय शैयाको अस्पताल सहित प्रतिस्ठान शुरु गर्ने उल्लेख गरेपछि चर्केको आन्दोलन थप सशक्त बन्दै गएको छ । सरकारका प्रतिनिधीहरुले गेटामा बिश्वबिद्यालयनै बन्ने प्रतिबद्धता जनाइरहेपनि आन्दोलनरत पक्ष बिस्वस्त हुन सकेको छैन । आइतबार सुदूरपश्चिमभरी आम हड्ताल गरेको संघर्ष समितिले सोमबार प्रदेशसभा बाहिर धर्ना दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत माघ २९ गते मन्त्रीपरिषदबाट गेटामा सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने निर्णय गराएका थिए । निति तथा कार्यक्रममा समेत समेटिएको बिश्वबिद्यालय एक्कासी बजेट बक्तब्यबाट हटाइएपछि सुदूरपश्चिममा आन्दोलन चर्किएको छ । करिब २ सातादेखीको आन्दोलनलाई रोक्न सत्तारुढ नेतृत्वले आग्रह गरेपनि आन्दोलन झन सशक्त बन्दै गएको छ । आफै निर्णय गरेको सरकारले बजेटबाट स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय हटाइनुले ठुलो शंका उब्जाएको छ । मेडिकल माफियाको चगुंलमा फसेकै कारण सरकार आफ्नै निर्णयबाट पछि हटेको यहाँका बासिन्दाको आरोप छ । गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न भइरहेको आन्दोलनमा जनसमर्थनसँगै राजनीतिक समर्थन पनि बढ्न थालेको छ ।
गेटामा विश्वविद्यालय स्थापनाका लागि सरकारलाई खबरदारी र दबाब दिन आवश्यक रहेको धनगढीका स्थनीय विनोद विष्टको भनाई छ । यस्तै स्थानीय डबल शाहले निर्माणाधीन भौतिक संरचनामा मेडिकल कलेज र प्रतिष्ठानभन्दा विश्वविद्यालय नै उपयुक्त हुने भन्दै सबै नागरिकको एक मत रहेको बताए । बजेट बक्तब्यमा त्रुटी भएपनि गेटामा स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयनै बन्ने सत्तारुढ नेताहरुको दावी छ । सत्तारुढ दलका शिर्ष नेताहरुले प्रस्ट धारणा नबनाएपनि सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेतृत्वले बिश्वबिद्यालयनै बनाइने धारणा ब्यक्त गरेका छन् । सत्तारुढ दलका नेताहरुपनि गेटामा बिश्वबिद्यालयनै बन्ने भएका कारण आन्दोलन रोक्न आग्रह गरिरहेका छन् ।
सतापक्षका सांसदको धारणा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा अगाडी बढाउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीको आयोजना गरिएको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य महरले गेटा मेडिकल कलेजलाई सञ्चालन गर्न सक्यो भने नेपालको गौरवको विषय बन्ने उनको धारणा थियो । यो गेटाको मेडिकल विश्व बिद्यालयले सुदूरपश्चिमका जनताले मात्र नभएर एउटा मेडिकल पर्यटनमा बिकास हुने दाबी गरे ।
यस विश्व बिद्यालयमा आसपासका प्रदेशका जनताको स्वास्थ्य अवस्था सुधारिने, छिमेकी देश भारतबाट समेत पढ्न आउने, उपचार गर्न आउने मानिसहरूको संख्या पनि बढेर यहाँको आर्थिक अवस्था र स्वास्थ अवस्थामा सुधार हुने बताए । सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला यो आन्दोलनमा आफ्नो समर्थन रहेको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी) केन्द्र सुदूरपश्चिम प्रदेश समितीले पनि धनगढीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको गेटामा शहिद दरशथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको माग गर्दै स्थानीयहरुको आन्दोलन पछि सोमबार (माओबादी) केन्द्र सुदूरपश्चिम प्रदेश समितीले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टले संघिय सरकार गेटामा विश्वविद्यालयको विरुद्धमा उभियो भन्ने कुरा झुटो भएको बताए । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका भट्टले माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघिय सरकार पूर्ण रुपमा गेटामा विश्वविद्यालय निर्माणको लागि प्रतिवद्ध रहेकाले भ्रममा नपर्न आग्रह गरे ।
उनले भने—‘गेटा स्थित मेडिकल बिश्व बिद्यालयलाई नै अगाडी बढाउछौँ । यो मेडिकल बिश्व बिद्याल बन्छ, अन्य पार्टीका नेताहरुको फरक धारणा भए पनि हाम्रो पार्टीको एउटै धारणा छ यो मेडिकल बिश्व बिद्यालयका रुपमा नै अगाडी बढाउने । जुन सरकारले यो बिषयका लागि नीति तथाकार्यक्रम सम्म ल्यायो त्यहीँ सरकारको बिरोध किन गर्नुपर्यो र त्यहीँ सरकारको बिरोध गर्नु कुनै हालतमा ठिक होईन ।’ यसलाई सच्याएर विश्वविद्यालय बनाउनको लागि निष्ठापुर्वक उभिएको छ’ ।
कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्न प्रतिवद्ध रहेको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन् । सोमवार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले गेटामा प्रदेशका आम नागरिकको चाहना र नेपाल सरकारको पूर्व निर्णय बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानूनी र अन्य व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका हुन् । गेटालाई प्रतिष्ठान बनाउन लागिएको भन्दै सुदूरपश्चिममा लगातार विरोध र प्रदर्शन भएपछि मुख्यमन्त्री शाहले गेटाबारे मुख खोलेका हुन् ।
सरकारलेनै गरेको निर्णय नभएर आन्दोलन गरिरहेका यहाँका नागरिक बिज्ञप्ती र बक्तब्यले बिश्वस्त हुन सकिरहेका छैनन् । सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय संघर्ष समितिका सैयोजक लोकराज पाण्डे आगोले सरकारकको कुरा अहिले नै विश्वास गर्ने नसकिने जानकारी दिए ।
कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेश सभा घेराउ गरिएको छ । विश्व विद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेश सभाको प्रवेशद्धवारमा प्रदर्शनसहित घेराउ गरेको हो । उनीहरुले सोमवार प्रदेश सभा सदस्यहरुलाई सभामा प्रवेशमा निषेध गर्ने कार्यक्रम थियो । तर प्रदेश सभाका सदस्यहरु आन्दोलनकारी जम्मा नहुँदै प्रदेश सभामा प्रवेश गरि सकेका थिए ।