कैलाली। कैलालीमा एक महिलालाई हत्या गरेको आरोपमा उनकी सासुलाई पक्राउ गरिएको छ । भने ससुरा फरार रहेका छन् । कैलालीको गौरिगङ्गा नगरपालिका—१ स्थित केदारेश्वर सामुदायिक वनमा मङ्गलवार २८ वर्षीया कविता बुढा मृत फेला परेकी थिइन् ।
प्रहरीका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको थियो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाइ छ। मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको स्रोतले जनाएको छ ।
उनका दुई जना छोराछोरी रहेका र केही दिनअघि मात्रै उनको ससुरासँग झगडा भएको बताइएको छ। फरार ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ । उनी घरमा सासू ससुरा र देउरानीसँग बस्दै आएकी थिइन् ।पक्राउ परेकी सासुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। फरार ससुराको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।