धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् । सरकारले पेश गरेको नीति तथा कार्यक्रम परम्परागत जस्तै रहेको प्रदेश सभा सदस्यहरुको टिप्पणी रहेको छ ।
नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशबासीलाई उत्साह दिने खालका कुरा नीति तथा कार्यक्रममा समेटिएको नदेखिएको बताए । ‘सरकारले औपचारिकता पुरा गर्ने एउटा कर्मकाण्ड सम्पन्न गरेको छ’ उनले भने –‘प्रदेशको समृद्धि, विकास र यहाँको गरिवी निवारणमा योग्दान पुर्याउने हिसावले समेटिएको छैन् । औपचारिकतामा सिमित र कुनै उत्साहपूर्वक नपुर्याउने प्रतिवेदन जस्तै देखियो । पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।’
नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम डंगोरा थारुले नीति तथा कार्यक्रम प्रदेशबासीका लागि स्वागतयोग्य रहेको बताए । ‘नीति तथा कार्यक्रम सुदूरपश्चिमवासीका लागि स्वागत योग्य छ । वास्तवमा यो कार्यान्वयन भयो भने जनताकै हितमा हुने छ भन्ने अनुमान गरेका छौं’ उनले भने –‘समावेशी तरिकालेनै यो आएको छ । अब बजेटमा कार्यक्रम कसरी आउँछ त्यो हेर्न बाँकी छ ।’
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रथम पञ्चवर्षिय योजनाको विकास सम्बन्धी रणनीति, प्राथमिकता, क्षेत्रगत रणनीति र कार्यनीतिका आधारमा दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नति हुने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी प्रादेशिक विकास कार्यक्रम तर्जुमा गरिने प्रदेश प्रमुख देवराज जोशीले बताए ।
उनले भने –‘उद्यमशीलता विकास, रोजगार एवम स्वरोजगारमूलक कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन एवम क्षमता विकास कार्यक्रम सञ्चालन गरि प्रदेशको आर्थिक विकास, रोजगारी र गरिवी न्यूनिकरणमा टेवा पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिइने छ ।’
नीति तथा कार्यक्रममा हाल सञ्चालनमा रहेका बहुवर्षिय, क्रमागत र अधुरा एवम दायित्व सृजना भएका आयोजनाको पुनरावलोकन गरी तोकिएको समयमै सम्पन्न गर्न बजेट विनियोजनामा प्राथमिकता दिइने उल्लेख छ ।