धनगढी। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागी ल्याउन लागेको बजेटबारे छलफल गर्नुपर्ने विषयलाई बेवास्ता गरेको आरोप लागेको छ। आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम असार १ गते ल्याउनुपर्ने प्रावधान रहेपनी बजेटको बिषयमा प्रर्याप्त छलफल नगरेको गुनासो गरिएको हो।
बजेट ल्याउन अब १० दिन मात्रै बाँकी रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम कस्तो आउँछ, के के बिषय प्राथमितामा पर्छन् भन्ने बारेमा अझै प्रदेश सभामा ल्याउन सकेको छैन । तर प्रदेश सरकारले भने बजेटको अन्तिम तयारीमा जुटेकोे दाबी गरेको जनाएको छ। अहिलेसम्म प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम नै पेस नभएका कारण आगामी आर्थिक वर्षको बजेट कस्तो आउँछ भन्नेमा अन्योल रहेको छ।
अन्योलकै बिच प्रदेश सरकारकै सहयोगमा जेठ २३ देखि २५ गतेसम्म पर्यटकीय स्थल खप्तडमा आयोजना हुन लागेको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा प्रदेश सरकारको ध्यान गएको छ । जसका कारण सम्मेलनको तयारीका लागि सांसदहरु व्यस्त हुँदा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने काम प्रभावित हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, संघीय सांसद, प्रदेश सरकारका सांसदको पनी सहभागिताले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने काम प्रभावित बन्ने देखीएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेता धर्मराज पाठकले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन ढिला गरेको र बजेटको विषयमा गहन छलफल नै नगरेको बताए। उनले सरकारको काम र गति सुस्त रहेको बताउँदै सो बिषयका बारेमा बेवास्ता गरिएको आरोप लगाए। नीति तथा कार्यक्रम समयमै सभामा प्रस्तुत गरेर असार १ गते बजेट कार्यक्रम पेस हुने बताए। प्रदेश सभामा नीति तथा कार्यक्रम ढिलो गरि पेस गर्दा छलफलका लागि समय कम हुने बताए। उनले लामो समयसम्म सरकारले पूर्णता नपाउँदा र विषयगत समितिमा सभापति चयन नगरेकाले सरकार सस्तु गतिमा रहेको बताए।
यस्तै यता सत्तापक्ष नेपाली कांग्रेसका सांसद प्रकाश बमले प्रदेश सरकारको नीति तथा कार्यक्रम तयारी अवस्थामा रहेको र जेठ २५ भित्रै प्रदेश सभामा प्रस्तुत हुने बताए । मुख्यमन्त्रीको कार्यालयमा नीति तथा कार्यक्रम तयार भइरहेको बताउँदै उनले आज (आइतबार) हामी सदनमा बस्ने जानकारी दिए । नेकपा माओवादी केन्द्रका नेता तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले समय अभाव तथा ब्यस्तता भएको बताए । नीति तथा कार्यक्रम प्रस्तुतमा ढिलाइ भएपनी नीति तथा कार्यक्रमको तयारी पूरा भएको र बजेट निर्माणको तयारीमै रहेको बताए । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षभन्दा यस आर्थिक वर्ष बजेटको आकार घटाएर ल्याउने देखीएको छ । आर्थिक वर्ष २०७८/२०७९ मा ३० अर्ब ३३ करोड ९५ लाखको बजेट ल्याएकोमा आर्थिक वर्ष २०७९/२०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट ल्याएको थियो । तर यी दुई आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा मुलुकमा विद्यमान मौद्रिक तरलता अभावका कारण बजेटको आकार घट्ने जनाइएको छ ।