धनगढी। सुदुरपश्चिम प्रदेश सरकार विस्तारको तयारी भएको छ। प्रदेश सरकार गठन भएको सय दिन पुरा भएपछि सरकार विस्तार हुन लागेको हो । प्रदेश सरकारले एक सय दिनको उपलब्धी सार्वजनिक गर्न आज विहान आयोजित कार्यक्रममा आज नै प्रदेश सरकार विस्तार हुने मुख्यमन्त्री कमलवहादुर शाहले जानकारी दिए।
मुख्यमन्त्री शाहले गठबन्धनको अर्को दल नागरिक उन्मुक्ती पनि सरकारमा सहभागी हुने उनले दावी गरेका छन् । यता नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुंग्याएको छ। संसदीय दलका नेता खगराज भट्टले सरकार पठाईने मन्त्रीको नाम टँुग्एिको एक सय दिनको उपलब्धी सार्वजनिक गर्न आयोजित कार्यक्रममा जानकारी दिए ।
भट्टले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गीतादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुग्याइएको जानकारी दिए । धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाईने भट्टले जानकारी दिए । शपथ ग्रहण आजै गर्ने तयारी भईरहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका कमल बहादुर शाहको कार्यकालको १०० दिनसम्म सुदूरपश्चिम प्रदेशसभाको बैठक १ पटकमात्रै बसेको छ ।
माघ २६ गते राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो। विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि रावलले राजीनामा दिए। त्यसै दिन प्रदेश प्रमुख देवराज जोशीले धारा ३ मा टेकेर सबैभन्दा ठूलो दलको हैसियतले शाहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री र दुई मन्त्री पटकपटक काठमाडौं ओहोरदोहोर गर्नुबाहेक अन्य उपलब्धि शून्य भएको आरोप बढ्दो छ तर मुख्यमन्त्री शाहले आफ्नो १०० दिन उपलब्धी मुलक भएको दावी गरेका छन् ।शाहले सरकारले राजनैतिक सहमति र स्थायित्वको नेतृत्व गरेको जग एक सय दिनमा बस्न सफल भएको बताए।
प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा बढोत्तरी, कृषि तथा पशुपन्छी उत्पादन वृद्धि, बजारीकरण एवम् रोग नियन्त्रणमा विशेष पहल, वन क्षेत्र अतिक्रमण नियन्त्रण, जबाफदेही प्रणालीको सुरूवात गरेको मुख्यमन्त्री शाहले बताएका छन् ।शाहले पहिलो चौमासिकमा १४ प्रतिशतमा न्यून रहेको बजेट खर्चको दर बढाएर ३३ प्रतिशत पुगाइएको उल्लेख गरे ।भौतिक पूर्वाधार विकासतर्फ २२ किलोमिटर सडक कालोपत्रे, ७५ किलोमिटर ग्राभेल, ३ वटा पुल, एउटा झोलुंगे पुल निर्माण र ३६ वटा खानेपानी योजना सम्पन्न गरिएको उनले उपलब्धि प्रतिवेदनमा उल्लेख गरेका छन्।
त्यस्तै वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको समन्वय, पर्यटन पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको, खेलाडी सम्मान, सुरक्षा निकायलाई सहयोग र समन्वय,सूचना सञ्चार क्षेत्रको विकास र साझेदारी, विकास साझेदारसँग आवश्यकता र प्राथमिकता उपर परामर्श र विपद् जोखिम न्यूनीकरणमा सहकार्यलाई उपलब्धि ठानेको छ । सरकारको कार्यशैलीलाई प्रतिपक्षी दल एमालेले भने अकर्मण्यता संज्ञा दिएको छ । सरकारको १०० दिन अकर्मण्यताको हिसाबमा गुज्रियो । सदनले बिजनेस पाएन । संसदीय समिति बन्न नसकेको आरोप एमालेको छ । सरकार आफ्नो काममा भन्दा बढी भागबन्डामा केन्द्रित भएको उसको दावी छ।


