धनगढी। सुदूरपश्चिम सरकारले मुख्यमन्त्रीसहित र प्रदेशबाट संघमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यबीच आगामी बजेटबारे छलफल गरेको छ। संघीय राजधानी काठमाडौंमा आज मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरुबीच प्रि बजेट छलफल भएको हो।
सुदुरपश्चिम प्रदेशको बजेट, विकास योजनाको समीक्षासहित आगामी बजेट र योजनाबारे छलफल गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । मुख्यमन्त्री कमल शाहले सुदूरपश्चिमको विकासमा सवै तहका सरकारको अपनत्व खोजेको बताए। उनले तीनै तहका जन प्रतिनिधिको साझा प्रयासबाट मात्रै विकास सम्भव हुने बताए।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सुदुरपश्चिम प्रदेशको विकासका लागि एकीकृत अभियानको जरुरी रहेको बताए। त्यसैले यसपल्ट प्रदेशले बजेट बनाउँदै स्थानीय सरकारका पदाधिकारी र संघीय सांसद्हरुको सुझाव समेत समेट्न खोजिएको उल्लेख गरे। यस्तै भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले फरकफरक पार्टीबाट प्रतिनिधित्व गरेपनि लक्ष्य एउटै भएकाले सल्लाह गरेरै अघि बढ्न खोजेको बताए। अहिले धेरै माग टुक्रे योजनाको रहेको बताउँदै वितरणमुखी बजेटबाट अपेक्षित नतिजा नआउने उनको भनाइ थियो। कार्यकर्ताका दबाबमा आउने कार्यक्रमले सुदूरपश्चिम नबन्ने उल्लेख गर्दै फरक तरिकाले सोच्नुपर्ने भएकाले छलफल जरुरी ठह¥याएको बताए।
उपस्थित सांसद्हरुले सुदूरपश्चिम सरकारले बजेटअघि सवैसँग छलफल गरेर राम्रो अभ्यासको थालनी गरेको बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट बनाउँदा संवेदनशील हुनुपर्नेतर्फ सचेत गराउँदै पारदर्शितामा उठिरहेका प्रश्नहरु हल गर्नुपर्ने उल्लेख गरे। यसपल्टको बजेट शिक्षा र स्वास्थ्यमा बढी केन्द्रीत बनाउनुपर्ने उनको सुझाव थियो। कांग्रेसकै अर्का सांसद् वीरबहादुर बलायरले प्रदेशमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै सचेत भएर अघि बढ्नुपर्ने बताए। छरिएको बजेटले उपलब्धी लिन नसकिने हुँदा निश्चित योजना बनाएर विनियोजन गर्ने सुझाए। उनले थपे, कम्तिमा एउटा पालिकामा एक वर्षमा नमूना काम भएको देखियोस्। यो काम प्रदेशबाट भएको हो भन्न मिल्ने होस्। तपाईंहरुको मार्गचित्रमा हामी छलफल गर्न तयार छौं।
एकीकृत समाजवादी प्रतिनिधि सभा सांसद् भानुभक्त जोशीले रोजगारमूलक काममा ध्यान दिनुपर्ने सुझाव दिए। कृषिमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताउँदै जोड दिनुपर्ने बताए। उनले पाँच वर्षे कार्यकालका साथै १० र २० वर्षे योजना बनाएर समेत काम गर्नुपर्ने आवश्यकता औंल्याए।नेकपा एमालेका सांसद् दामोदर भण्डारीले आमजनमा निराशा रहेको र सरकार समेत फेरिरहेकाले राजनीतिक नेतृत्वमाथि प्रश्न उठेको बताए। सरकार फेरबदल भइरहने भएकाले आगामी बजेट सहमतीय ल्याउनुपर्ने आवश्यकता औंल्याए।स्वास्थ्यका लागि अझैपनि भारत वा संघीय राजधानीमा निर्भर रहनुपर्ने अवस्था रहेकाले यसपल्टको बजेटलाई त्यतातिर केन्द्रीत गर्न सुझाए। विकासमा भ्रष्टाचार रहेको उल्लेख गर्दै भने, प्रिपेड घुसको कुरा आएको छ। मैरै जिल्लामा यति प्रतिशत घुस बुझाएर योजना गएका बताउने गरिएका छन्। यसले हाम्रो सरकारको औचित्यमाथि प्रश्न उठेको छ।
एमालेकै अर्का सांसद् तारा लामाले सुदूरपश्चिम सरकार सवैको रहेको भावनात्मक सन्देश दिन जरुरी रहेको उल्लेख गरे। आदिबासी जनजातीको जीवन उत्थानका लागि विशेष कदम चाल्नुपर्ने बताउँदै पर्यटन सम्भावनाको क्षेत्र रहेको बताए। आफू छोटो समय अर्थमन्त्री हुँदा घुसको अफर भएको बताउँदै उक्त विकृति बन्द गर्ने बाटोमा लाग्नुपर्नेमा जोड दिए। पारदर्शी र प्रष्ट छलफल गरम्। प्रिपेड घुसको कुरा नगरौं। एकछिन अर्थमन्त्री हुँदा मलाई त अफर गरेका थिए। नमान्दा बजेट ल्याउन ल्याउन खोजेको दिन बाहिरिनुप¥यो। नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले संघीय संसद्ले कानुन निर्माणमै ध्यान दिनुपर्ने भएकाले प्रदेश सरकारले विकासको समन्वय गर्नुपर्ने उल्लेख गरे। र्नले प्रदेश बलियो बनाउने र संघको शाखा नभइ छुट्टै सरकार रहेको अनुभूति दिने कानुन बनाउन सक्रिय हुनुपर्ने बताए।
उनले थपे, हार्डव्यर भौतिक विकास हो। सफ्टवेयर मानिसिक पक्ष हो। हामीकहाँ सफ्टवेयर पक्षको विकासमा जोड दिन जरुरी देख्छु। मुख्यमन्त्री जनशक्ति आयोजना भनेर कार्यक्रम घोषणा गरौं। आगामी दिनमा सुदूरपश्चिमलाई चाहिने जनशक्ति निर्माणमा जोड दिए। राष्ट्रिय सभा सदस्य गरिमा शाहले उक्त छलफल नयाँ अवधारणा रहेको बताइन्। यसले सुपको बजेट निर्माणमा मद्दत गर्ने उनको भनाइ छ। उनले भनिन्, सुन्दर सदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम कसरी बनाउने अब त्यतातिर जोड दिनुपर्छ। अहिलेलाई हामीसँग जे छ, त्यसैबाट सुरुवात गर्नुपर्छ। निर्वाहमुखीबाट आत्मनिर्भर कृषिमा रुपान्तरण गर्नुपर्छ। नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुण चौधरीले सुदूरपश्चिमलाई कसरी चिनाउने भनेर पाँच वर्षे योजना बनाउनुपर्ने बताए।
अन्य प्रदेशकाहरु आफ्नो क्षेत्रका लागि एक ठाउँमा आउने गरेको बताउँदै सुदूपश्चिमले पनि त्यही अपनाउनुपर्ने बताए। हरेक जिल्लामा एउटा नमूना स्कुल कार्यक्रम गर्ने प्रस्ताव राखे। एकीकृत समाजवादीका सांसद् शेरबहादुर कुँवरले प्रदेशले संघीय सांसद्सँग छलफल गर्ने अभ्यासले विश्वास सिर्जना गरेको बताए। पुँजी निर्माण र भित्र्याउने कुरामा जोड दिनुपर्ने उनको भनाइ छ। स्वास्थ्य उपचार अपरिहार्य कुरा रहेको बताउँदै गेटामा स्वास्थ्य सेवा सुरु गर्ने, डडेलधुरा र बयलपाटालाई बलियो बनाउनेमा जोड दिनुपर्ने उल्लेख गरे।राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले सुदूरपश्चिमका तीन बाटा सेती लोकमार्ग, धनगढी दिपायल फास्ट्र ट्र्याक र कर्णाली करिडोर पूरा गर्न प्रदेशले पालिकासँग समेत समन्वय गरेर अघि बढ्नुपर्ने बताए। उनले प्रदेश स्थायित्व र निरन्तरता प्रदेशमै बस्नेले पुष्टि गर्नुपर्ने बेला आएकाले गम्भीर भएर काम गर्न सुझाए। निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले दुर्गमलाई लक्षित गरेर बजेट बनाउनुपर्ने उल्लेख गरे। हुँदा खाने र हुने खानेबीचको खाडल गहिरो रहेको बताउँदै त्यसलाई पुर्नेगरी योजना बनाउनुपर्ने धारणा राखे। अनुदानको गलत प्रयोग भएकोतर्फ ध्यान केन्द्रीत गराउँदै उत्पादनमा मात्रै अनुदान दिने व्यवस्था हुनुपर्नेमा जोड दिए।


