काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब नेपाली जनताले भ्रष्टाचार नसहने बताएका छन् । नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध आज माइतिघर मण्डलामा गरेको प्रदर्शनमा पुगेर उनले यस्तो बताएका हुन् ।यसअघिका सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा लामिछानेको जोड थियो।
आज (शनिबार) काठमाडौंको माइतिघरमा सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी भएर उनले एक्यैवद्धता पनि जनाएका छन् । नागरिक अगुवाहरूले आज माइतीघर मण्डलामा भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा आफू स्वतस्फूर्त युवाहरुले सुरु गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा आएको उनको भनाई छ । उनी प्रदर्शन स्थलमा पुग्दा उनका समर्थकहरुले चर्को हुटिङ गरेका थिए ।भ्रष्टाचार विरोधी अभियानको प्रदर्शनमा सहभागी भएका युवाहरुले ‘भ्रष्ट तेरो पाराले, दुःख पाए साराले, भन्छौं हामी बारम्बार, भ्रष्टाचारी कारागार, सबै कुरा प्रष्ट छ, सिस्टम हाम्रो भ्रष्ट छ’ लगायतका नारा लगाएका थिए ।नागरिक अगुवासहितको टोलीले माइतीघरमा बिहान ११ बजे प्रदर्शन गरेको थियो भने त्यसपछि नक्सालमा प्रर्दशन गरिएको थियो ।प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।त्यसैगरी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मनिग्राम चोकमा युवाहरुले युवाहरुले भ्रष्टाचारविरोधी प्रदर्शन गरेका हुन् । खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ हो।