धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा माघ २६ गते नियुक्त भएका कमल बहादुर शाहले ३ महिना पुग्न लाग्दा सरकारलाई पुर्णता दिन सकेका छैनन्। एमालेका राजेन्द्र रावल नेतृत्वको सरकार ढलेकै दिन प्रदेशसभाको ठुलो दलको हैसियतमा नेपाली काँग्रेस संसदिय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री शाहले २७ गते कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका नरेश शाहीलाई नियुक्त गरेका थिए। प्रदेश सभाको दोस्रो कार्यकालसुरु भएदेखी झण्डै चार महिनासम्म प्रदेश सरकार, मन्त्रालय बिस्तार र भागबण्डामै अल्झीएको छ । शाह नेतृत्वको सरकारको तीन महिना पुग्नै लाग्दा पनि मन्त्रीपरिषद बिस्तार नहुँदा उनीसहित तीनजनाको भरमा मात्रै प्रदेश सरकार छ। अझै चारवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन्।
सात सदस्यीय मन्त्रिपरिषद्मा चार मन्त्रालय रिक्त रहँदा पूर्णता दिन सकेका छैनन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेशको मन्त्रीमण्डल विस्तारबारे छलफल गर्न आज काठमाडौं पुगेका हुन् । मुख्यमन्त्रीसंगै भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा पनि काठमाडौं पुगेको सचिवालयले जनाएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको तीन महिना पुग्नै लाग्दा समेत प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार हुन नसकेकाले छलफल गर्न उनी काठमाण्डौं पुगेको सचिवालयका टेकराज कठायतले बताए । मुख्यमन्त्री शाह, मन्त्री देउवाले गठबन्धनका शिर्ष नेताहरुबिच भेटघाट गर्ने कार्यतालिका रहेको उनले बताए ।
‘बजेट अधिवेशन नजिकिँदै गर्दा मन्त्रालय मन्त्री विहिन हुँदा काम गर्न समस्या भएको छ’ उनले भने–‘छिट्टै मन्त्रीमण्डल विस्तार गरेर योजना, कार्यक्रम बनाउनमा सहयोग गर्न शिर्ष नेताहरुलाई अनुरोध गर्ने छन् ।’ यता शनिवारमात्रै काठमण्डौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम सरकार विस्तारको विषयमा उनीहरूबीच छलफल भएको हो। छलफलमा नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिमका अन्य सांसदहरू पनि उपस्थित रहेका थिए।
पार्टी प्रवक्ता दामोदर पण्डितले प्रधानमन्त्रीसँग समसमायिक विषयमा छलफल र सुदूरपश्चिम सरकार विस्तारको क्रममा रहेको र त्यसमा नागरिक उन्मुक्तिले पाउने भागबण्डाका विषयमा छलफल भएको बताए। सुदूरपश्चिम सरकार विस्तारको क्रममा रहेकाले सरकारमा हाम्रो उचित सहभागिता हुनुपर्ने माग गरिएको उनले बताए। प्रवक्ता पण्डितले सुदूरपश्चिम सरकारमा पार्टीले दुई मन्त्रालय दाबी गरेको बताए। सुदूरपश्चिम सरकारमा हामीले एक राज्य मन्त्री र दुई मन्त्री पाउनुपर्छ भन्दै आएकोमा त्यसो नभए हामी सरकारमा नजाने उनले बताए ।उनले सामाजिक विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेका छन्।गत २६ पुसदेखि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन्।


