धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक नै अनिश्चित बन्दा ऐन पारित र कार्यान्वयन गराउन समस्या भएको छ । प्रदेश सभाको पहिलो पाँच वर्षे कार्यकालमा पारित भएका ६७ ऐन नियम कार्यान्वयनमा समस्या भएको हो । कतीपय ऐन नियम पारित पारित गराउनुपर्नेछ।
प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको पाँच महिनाभन्दा बढी बितीसक्दा मन्त्रीपरिषदले पूर्णता नपाउदा यो समस्या देखीएको छ । पहिलो पाँच वर्षको कार्यकालमा १० वटा अधिवेशन बसेको प्रदेश सभाले एउटा आंशिक र पाँच वटा पूर्ण बजेट पारित गर्नुका साथै ६७ वटा विधेयक पारित गरेको थियो। तर दोस्रो कार्यकालका लागि नियमित बस्न नसकेको प्रदेश सभा बैठक डेढ महिनादेखि ठप्प रहेको छ । सुदूरपश्चिम प्रदेश सभाको पहिलो पाँच वर्षको १०औं अधिवेशनको अन्तिम बैठकमा सभाले प्रदेश सवारी तथा यातायात ऐन पारित गरेको थियो।
पछिल्ला बैठकहरूबाट सभाले प्रदेश प्रहरी ऐन, प्रदेश निजामति सेवा ऐन, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, प्रदेश र स्थानीय तहबीच समन्वय सम्बन्धि ऐन लगायतका ऐनहरू पारित गरेको थियो। प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार भदौ १७ गते मध्यरातिबाट प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको हो। प्रदेश सरकार गठन भइरहदा प्रदेशमा एक हजार किलोमिटर भन्दा कम पक्की बाटो रहेकोमा ७ सय किलोमिटर प्रदेश सरकारले पक्की बाटो बनाएको उल्लेख छ। विद्युत उत्पादनका लागि दुई वटा जलविद्युत आयोजना समेत अगाडि बढाएको भए पनि कामले पूर्णता पाएको छैन्। प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी ऐन पारित गरिससकिएको भए पनि कार्यान्वयनको अनुभुति हुन सकेको छैन्। राजमार्गमा सिसिभिटी जडान र भेकल ट्रेकिङ्ग सिस्टम व्यवस्था गरेको भए पनि उपयोगमा छैन्।
त्यस्तै स्थायी राजधानी घोषणा गरिएको भएपनि राजधानी बनाउने जमीन छैन्। संविधानले २० मेगावाटसम्मको जलविद्युत बनाउने अधिकार प्रदेश सरकारलाई दिएको भए पनि प्रदेश सरकारले निर्णय गरेर आयोजना बनाउन अगाडि बढ्दा त्यो अधिकार संघीय सरकारले खोसेको छ। हाल सुदूरपश्चिमका चारवटा मन्त्रालय करिब चार महिनादेखि मन्त्रीविहीन छन्। मन्त्रालयको नेतृत्व गर्ने मन्त्री नहुँदा चालू वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेटका लागि योजना तर्जुको काम प्रभावित छन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गत २६ पुसदेखि मन्त्रीविहीन छन्। पुस २६ मा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वको सरकार मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै एक महिनामै ढलको थियो । २६ माघमा काँगे्रसका संसदिय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियूक्त भएका थिए । उनले कांग्रेसबाट मुख्यमन्त्रीसहित प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीबाट नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री बनाएका छन्। त्यसबाहेक मन्त्रीपरिषद बिस्तार गर्न सकेका छैनन् ।


