धनगढी। कैलाली र कञ्चनपुरका मुक्त कमैयाले अधिकार यात्रा गर्ने भएका छन् । कमैया मुक्ति भएको लामो समय बित्दा पनि पुनःस्थापना हुन नसकेको भन्दै मुक्त कमैया समाजले कैलाली– कञ्चनपुरमा अधिकार यात्रा गर्ने भएका हुन्।
समाजले बैशाख १४ गते विहिवारदेखि कैलालीको टिकापुर र कञ्चनपुरको महेन्द्रनगरबाट एकै साथ साईकलमा अधिकार यात्रा गर्न लागेको हो । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि समाजले अधिकार यात्राका बारेमा जानकारी गराएको छ। सरकारले कमैया र कमलरी पहिचान गर्दा पहिचान प्रक्रिया गलत हुँदा धेरै कमैया छुटेका समाजले जनाएको छ।
सरकारको तथ्यांकमा एक जना पनि नछुटेको देखिए पनि कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ जना मुक्तकमैया पुनस्र्थापना बाँकी रहेको बुधबार समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए । सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो। यस्तै २०७० असार १३ गत कमलरीको मुक्तिको घोषणा गरेको थियो। मुक्तकमैया समाजले दिएको जानकारी अनुसार सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्तकमैया परिवार पुनस्र्थापित भएका छन्। भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १ सय ५८ जनाले परिचय पत्र पाएका थिए । मुक्त कमलरी मञ्चले अझै सुदूरपश्चिममा १ हजार ७ सय ३५ छुटेका छन्।