धनगढी। एसपिए कलेज धनगढीका प्राध्यापक चेतराज भट्ट निष्कासनमा परेका छन्। छात्राहरूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट विद्यार्थीसँग अनैतिक कुराकानी गरेको आरोप लागेका प्राध्यापक चेतराज भट्टलाई एसपीए कलेजले निष्काशित गरेको छ । एसपिए कलेजमा कार्यविधि कानून पढाउने प्राध्यापक भट्टले फेसबुकबाट आधा दर्जन छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
विद्यार्थीबाट उजुरी आएलगत्तै कलेजले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षकलाई निष्काशित गरि आवश्यक छानविन र कानुनी कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।विद्यार्थीको सर्वागिंण तथा सर्वोपरी सुरक्षा र हकहित रक्षा गर्नु कलेजको न्यूनतम शर्त भएकाले कुनैपनि अवाच्छित गतिविधिमा जिरो टोलेरेन्स नीति अनुरुप प्राध्यापकलाई निष्काशित गरी प्रहरीलाई बुझाइएको कलेजले विज्ञप्तिमार्फत जनाएको छ ।
एकेडेमीले तत्काल पीडीतको पक्षबाट निवेदन लेख्न लगाई आवश्यक प्रक्रिया पुरा गरि निजलाई कारवाहीको प्रक्रिया स्वरुप पदमुक्त गरिसकिएको र कलेज प्रशासनले नै प्रहरीलाई बुझाई कानुनी प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदछौं,कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।अभियुक्तलाई प्रहरीको जिम्मा लगाइसकिएको र कानुन अनुसार कारवाहीको प्रक्रिया अघि बढिसकेको क्याम्पसप्रमुख योगराज उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
साथै विज्ञप्तिमा अभियुक्तलाई बचावट गर्न खोजिएको भन्ने गरि आएको समाचार पूर्ण रुपमा निराधार असत्य र यथार्थता विपरित रहेको जनाएको हो। ती सर एसपीएमा पार्ट टाइम टिचरका रुपमा कार्यरत थिए। एसपीएबाहेक ती सर धनगढीका अन्य विभिन्न ४ वटा कलेजहरुमा पढाउने गरेका छन्। एसपीएले यसअघि नै ती सर कलेजबाट निष्काशित गर्दै आवश्यक छानविन र कानुनी कारवाहीका लागि प्रहरीलाई बुझाइसकेको छ । हाल ती सरविरुद्ध उजुरी परिसकेको र केस अदालती प्रक्रियामा गईसकेको छ।


