चितवन। चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं.२ मा उजुरी दिएका हुन् ।
मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ। किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ। उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आादेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको माग गरिएको छ ।


