धनगढी। धनगढी उपमहानगरपालीकामा कक्षा ८ को लज्जास्पद नतिजाको जिम्मा कस्ले लिनुपर्ने भन्ने बारेमा सुझाब दिइएको छ। धनगढी उपमहानगरपालिकामा रहेका १८ विद्यालयको कक्षा ८ मा आएको वार्षिक नतिजाबारे स्वयम बिद्यार्थी, अभिभावक, शिक्षक र उपमहानगरपालिकाले लिनुपर्ने जोड दिइएको हो।
धनगढीका विभिन्न १७ सामुदायिक र १ सस्थागत गरी १८ विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको धनगढी उपमहानगरले जनाएको छ।सामुदायिक विद्यालयको नतिजा खस्कँदै गइरहेको अवस्थामा १८ वटा विद्यालयका कक्षा ८ का सबै विद्यार्थीले कक्षा ९ पढ्न नपाउने गरी वार्षिक परीक्षामा न्यून नतिजा ल्याएपछि चर्चा चुलिएको छ। सोही नतिजाको विषयमा उपमहानगरभित्र देखिएको न्यून नतिजाको जिम्मेवारी उपमहानगरपालिका र सम्बन्धित जिम्मेवार व्यक्ति र शिक्षकहरुले लिनुपर्ने बताइएको छ। यस्तै उक्त नतिजा र शैक्षिक क्षेत्रको गम्भीर समीक्षा गरेर सुधारका लागि पहल गर्नुपर्ने जोड रहेको छ ।
धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन नपाउने गरी ‘ननग्रेड’ नतिजा ल्याएका हुन्। धनगढी उपमहानगरपालिकाको कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१, शान्तिनगरमा रहेको सरस्वती आधारभूत विद्यालय, १३ श्रीलङ्कास्थित नवज्योति आधारभूत विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन पाउने गरी नतिजा ल्याउन सकेका छैनन्। यस्तै वडा नम्बर १३ राजपुरमा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ६ मटियारीमा रहेको भैरवबाबा आधारभूत विद्यालय, वडा नम्बर ९ बङ्गरा कटानमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीले आवश्यक ग्रेड प्राप्त गर्न सकेनन्।
यसैगरी वडा नम्बर ७ देवहरियामा रहेको शिव माध्यमिक विद्यालय, वडा नम्बर १७ पथरीमा रहेको भानु मावि, १६ स्थित डुमलियामा रहेको सज्जन आधारभूत विद्यालय, सोही वडाको भादास्थित दीपेन्द्र चारपाते माविको कक्षा ८ को नतिजा ननग्रेड आएको छ। यस्तै वडा नम्बर १४ फूलबारीस्थित शिवशङ्कर आधारभूत विद्यालय, सोही वडाको एच गाउँस्थित सिद्धार्थ आधारभूत विद्यालय, वडा नम्बर १८ स्थित खप्तडी आधारभूत विद्यालय, इन्द्रोदय आधारभूत विद्यालयको नतिजा लज्जास्पद छ। त्यस्तै वडा नम्बर १९ स्थित फूलबारी आवि, वडा नम्बर १२ स्थित जनकबस्ती आवि, दुर्गा आवि र वडा नम्बर १० मा रहेको जनकल्याण मावि र संस्थागत बिद्यालय तर्फ धनगढी वडा नम्बर ३ मा बोराडाडीमा रहेको मोडर्न स्कुलको कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन पाउने नतिजा ल्याउन सकेनन्। १८ वटा विद्यालयका कक्षा ८ को नतिजा लज्जासपद आएपछि चर्को टीकाटिप्पणी भइरहेको छ। शिक्षकहरू शिक्षण पेसाभन्दा पनि नेतागिरी गर्न थालेपछि नतिजा खस्केको स्थानियको भनाई रहेको छ ।


