धनगढी। मातातीर्थ औंसीको अवसरमा धनगढी ५ को चैतन्य पाठशालाले आमा अभिभाबकहरुलाई सम्मान गरेको छ। आज मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको पावन अबसरमा पाठशालाले विद्यालयमा आयोजना गरेको विशेष कार्यक्रममा सम्पूर्ण आमा अभिभाबकहरुलाई सम्मान गरेको हो।
विद्यालयकी जेष्ठ आमा अभिभाबक विष्णु देवी थापा प्रमुख अतिथिमा भएको कार्यक्रममा चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, प्रधानाध्यापक हरी प्रसाद जोशी,सञ्चालक समिति सदस्य एबम् संस्थापक प्रिन्सिपल उदय प्रताप सिंहले सम्पूर्ण आमाहरुलाई मायाको चिनो सहित सम्मान गरेका थिए।
कार्यक्रममा विद्यालयका अध्यक्ष एबम् चैतन्यका प्रमूख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले आमा शब्दको पवित्रता र यसको महिमाबारे चर्चा गर्दै धनगढीमा पहिलो पटक मातातीर्थको पवित्र दिनमा सृष्टि कर्ता, ममताकी प्रतिमूर्ति सम्पूर्ण मातृ शक्तिलाई नमन् गर्दै यो कार्यक्रम आयोजना गरिएको बताए। यस्तै प्रमूख कार्यकारी अधिकृत जोशीले वर्तमान समयमा आमाको ममताले नै आदर्श समाजको निर्माण गर्न सकिने र त्यसको लागि आमाहरु शिक्षित नभएपनि असल मार्गनिर्देशनको भुमिकाले देश र सम्पूर्ण विश्वको कल्याणमा अहम भूमिका निर्वाह गर्ने कुरा व्यक्त गरेका छन्। कार्यक्रम सञ्चालन शिक्षक रमेश क्षेडालले गरेका थिए भने स्वागत मन्तव्य हेमा जोशीले गरेकी थिइन् । कार्यक्रमको अन्तमा देउडा सँस्कृतिक कार्यक्रम तथा देउडा खेलमा रमाइलो गरिएको थियो। 




