बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बैशाख २ गते शनिबार राति दोगडाकेदार गाउँपालिका ८ का जोशीको धारिलो हतियार प्रहार गरिएको थियो।
हत्या आरोपमा दोगडाकेदार गाउँपालिका-८ तोलीका मन्दिरे भनिने २४ वर्षीय महेन्द्र बिष्ट (आज) र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई हिजो (आईतबार) पक्राउ गरिएको बैतडी प्रहरी प्रमुख प्रेम शाहीले बताए। धारिलो हतियार प्रहार गरेर छिमेकीको हत्या गरी फरार भएका बिष्टलाई प्रहरीले पक्राउ गरेको छ।
बैतडी प्रहरी प्रमुख शाहीले विष्टलाई दोगडाकेदार गाउँपालिका-८ कै तल्लोतोलीमा लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जानकारी दिए ।मृतक जोशीका दाई पुष्पराज जोशीले ज्यान सम्बन्धि कसुरमा बिष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएका थिए। मृतक जोशीको शव जिल्ला अस्पताल बैतडीमा परीक्षणपछि आफन्तलाई बुझाइएको छ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्लाबाट खटिएको संयुक्त टोलीले विष्टलाई पक्राउ गरेर जिल्ला ल्याइरहेको शाहीले बताए। आजै आफन्तहरुले अन्तिम संस्कार गरेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विष्टले जोशीको हत्या गर्नुको कारण भने खुलेको छैन। उनलाई जिल्ला पुगाएपछि मात्र थप कुरा खुल्ने प्रहरीले जनाएको छ।


