धनगढी। राष्ट्रिय युवा संघ नेपालका सुदूरपश्चिम प्रदेश संयोजक इन्जिनियर विनय शाहले केन्द्रीय सचिवमा उम्मेदवारी दिएका छन्। नेपालगञ्जमा जारी युुवा संघको नवौँ राष्ट्रिय महाधिवेशनमा शाहले सुदूरपश्चिम प्रदेश (भूगोल)बाट केन्द्रीय सचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले संस्कारद्वारा राष्ट्रिय पुँजी निर्माण गर्दै समाजवाद उन्मुख हुँदै साम्यवादमा पुग्ने लक्ष्यका लागि आफूले सचिवमा उम्मेदवारी दिएको प्रतिक्रिया दिए। युवा संघको केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग उपप्रमुख समेत रहेका शाहले गत साउनमा प्रदेश संयोजकको जिम्मेवारी पाएका थिए ।
२०७२ सालमा राष्ट्रिय युवा संघको केन्द्रीय कमिटि सदस्यमा बनेका शाहले जिल्लादेखि युुवा संघको राष्ट्रिय राजनीतिमा छुट्टै खालको छवी बनाएका नेताको छवि बनाएका छन्। २०६२ सालमा काठमाडौँको नेपाल कलेज अफ इनफर्मेसन टेक्नोलोजी (एनसीआईटी) बाट पार्टीको भातृ संगठन अनेरास्ववियुुबाट उनी नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका थिए।
विद्यार्थी राजनीतिमा प्रवेश गरेको छोटो समयमै लोकप्रिय बनेका थिए। शाह पेशाले इलेक्ट्रोनिक एण्ड कम्युुनिकेशन इन्जिनियर र सिस्टम इन्जिनियर पनि हुन्। शाहसँगै केन्द्रीय सचिवमा कञ्चनपुरका कमल गिरीले पनि उम्मेदवारी दर्ता गराएका छन् । गिरी राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज पनि हुन् ।