कञ्चनपुर। कोरोना संक्रमणका बेला निर्माण भएको होल्डिङ सेन्टर अलपत्र अवस्थामा परेको छ । कञ्चनपुरमा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका बेला निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर अलपत्र र प्रयोगविहीन अवस्थामा रहेको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा १ हजार बढीलाई राख्न सकिने क्षमताको निर्माण भएको उक्त होल्डिङ सेन्टर एक वर्षदेखि अलपत्र अबस्थामा रहेको छ । निर्माण भएको भवन सञ्चालनको विषयमा अझै पनि अन्योलता रहेको छ । उक्त क्षेत्रमा ५० बेड क्षमताका २२ वटा ठूला संरचना, ३ वटा भान्साघर र १२ डाइनिङ हल तथा २२ वटा शौचालय गरी ५९ वटा संरचनाहरू निर्माण भएका छन् । भवनभित्र बेडदेखि कुर्सी टेबुलहरू पनि राखिएका छन् ।
तर तिनको रेखदेख गर्नेसमेत कोही छैन । कोरोना संक्रमण तीव्र बढ्न थालेपछि सरकारले २९ करोड ९९ लाखमा नेपाली सेना मातहत गतवर्ष उक्त होल्डिङ सेन्टर निर्माण गरेको थियो । भारतबाट घर फर्किनेहरूमा संक्रमण देखिए सोही क्षेत्रका होल्डिङ सेन्टरमा होम आइसोलेसनमा राख्ने लक्ष्य राखिएको थियो । ‘हामीले गतवर्ष नै निर्माण सकेर नेपाली सेनालाई हस्तान्तरण गरेको होल्डिङ सेन्टर निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका परियोजना प्रबन्धक लक्ष्मण सापकोटाले बताए। गतवर्ष साउनमै हामीले सबै काम सम्पन्न गरिसकेका र ठूला भवनमा बेडदेखि आवश्यक सबै सामग्री राखिएको बताए।
कोरोना संक्रमण सुरु हुने बेलामा होल्डिङ सेन्टर सञ्चालनको कुरा उठ्छ । तर संक्रमण कम भएसँगै यो कुरा पनि सेलाउँछ। भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला त्यहाँबाट घर फर्किने नेपालीहरूमा पनि संक्रमण देखिन थालेको छ । पछिल्लो दुई हप्तामा मात्रै भारतबाट घर फर्किने १०/१२ जनामा संक्रमण देखिएको छ। गड्डाचौकी नाकामा गरिएको एन्टिजेन परीक्षणमा दिनहुँ संक्रमण पुष्टि भइरहेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबार गड्डाचौकी नाकामा १८५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्ट भएको छ । मंगलबार जिल्लामा ४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको थियो ।
होल्डिङ सेन्टर सञ्चालनबारे रक्षा मन्त्रालयले अध्ययन थालेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । उनका अनुसार मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली गठन भएर अध्ययनको काम भइरहेको छ । गत साता उक्त टोलीले महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको पनि अनुगमन गरेको थियो। हामीले चारवटा विकल्पमा जान सकिने सुझाव दिएको उनले बताए । टोलीले सुझाव संकलन गरेर फर्केकोले पहिलो विकल्प १ हजार क्षमताको उक्त संरचनालाई ३० प्रतिशत होल्डिङ सेन्टरकै रूपमा लैजान सकिने सुझाव दिइएको थियो । यस्तै बाँकी संरचनालाई लागूऔषध दुर्व्यसनीका, पुनर्स्थापन केन्द्र बनाउन, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने गरी बताइएको थियो।
यस्तै कैलालीको धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको छ । कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्कने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यका साथ सङ्घीय सरकारको लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको थियो ।सङ्घीय सरकारले रु २८ करोड ८१ लाखको लागतमा बनेको यो होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम छ ।कोरोना सङ्क्रमणको दोस्रो लहरमा सम्भावित महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारले नाकानजिक हतार–हतारमा होल्डिङ सेन्टर निर्माण गरेको थियो । सुरुमा तीन महिनाभित्र निर्माण गरिसक्ने सम्झौता रहे पनि करिब एक वर्षपछि गत साउनमा होल्डिङ सेन्टरको काम पूरा भएको थियो । धनगढी उपमहानगरपालिका–३ मा निर्माण भएको होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्ने निर्णय नहुँदा अन्योल सिर्जना भएको छ । वडा नं ३ मा रहेको प्रगति सामुदायिक वन र ज्योति सामुदायिक वनको जमिनमा सरकारले एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको थियोे ।नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको हो । सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटामा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण गरिएका छन् ।