कैलाली। नवलपरासीको फोर ब्रदर्श एफसी कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो ।
गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा नवलपरासीका लागि कप्तान विनोद केवटले व्यक्तिगत दुई र हरि कठायतले १ गोल गरे । खेल सुरु भएको ५ मिनेटमै हरि कठायतको गोल मार्फत फोर ब्रदर्शले अग्रता लिएको थियो । २० औँ मिनेटमा कप्तान विनोद केवटले १ गोल थप्दा फोर ब्रदर्श २–० को अग्रतामा पुग्यो । पहिलो हाफको २५ औँ मिनेटमा बर्दियाका तर्फबाट फागुराम थारुले १ गोल फर्काए । त्यसको १५ मिनेटपछि खेलको ४० औँ मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफको खेल ३–० को अग्रतामा सकियो ।
दोस्रो हाफको २० औँ मिनेटमा कप्तान विनोद केवटले फोर ब्रदर्शलाई थप १ गोलको योगदान दिँदै सहज जित दिलाए। उनी म्यान अफ दी म्याच पनि चुनिए । ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ। १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।