काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर आज न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदै छ । उक्त रिट पेसी सूचीको नौ नम्बरमा छ।अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै पौडेलले रिट हालेका हुन् ।यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी कसुर गरेको जिकिर गरिएको छ ।
यसअघि, सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए । राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको विवरण पेस गरेका थिए । सो कार्य राहदानी ऐन, २०७६ र साविक राहदानी ऐन, २०२४ बमोजिम कसुर ठहर्ने भन्दै उनीविरुद्ध मुद्दा चलाउन माग गरिएको हो । पौडेलले यसअघि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका थिए ।
सर्वोच्चको संवैधानिक इजलासले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरेको थियो । नागरिकता विवाद मंसिर ४ मा भएको निर्वाचनअघि नै आए पनि उनी चितवन–२ बाट उम्मेदवार हुँदै निर्वाचित भएका थिए। तर सर्वोच्चले नेपाली नागरिक नभएको ठहर गरेपछि सांसद पद गुमाएका थिए।निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। वैशाख १० गते उपनिर्वाचनको मिति तोकिएको छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। रविले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।सोमबार रविविरुद्ध दर्ता भएको रिटमा अन्तरिम आदेश जारी भएमा उनी उपनिर्वाचनमा भाग लिनबाट रोकिने छन्। अन्तरिम आदेश जारी गर्न अस्वीकार भएमा भने उनका लागि कानुनी बाटो खुला रहनेछ।