काठमाडौं। बारा २ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो उपचुनाव लड्ने भएका छन्। लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए। महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए।
धनुषा ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए। बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ।
जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ। यादव गत चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। उनै राउतले उम्मेदवार बनाउन भन्दै शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेका छन्। ४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए।