धनगढी : धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा क्यामरुन पुगेको छ । आज भएको खेलमा खुमलटार क्लवलाई ३–१ ले पराजित गर्दे क्यामरुन एभिनर एफसी सेमिफाइनल प्रवेश गरेको हो ।
धनगढी रंगशालमा जारी गोल्डकपमा आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा बराबरी नतिजा रहेपनि दोस्रो हाफमा खुमलटारले केहि कमजोर प्रदर्शन गर्यो ।
दोस्रो हाफमा एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई सेमिफाइनलको यात्रा तय गराए । उनले खेलको ६६ औं र ७२ औं मिनेटमा गोल गरेका थिए । एभिनरले सेमिफाइनल प्रवेशका लागि बागमती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच हुने खेलको विजेतासंग खेल्ने छ ।
शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुने छ । मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।