धनगढी। थ्री स्टार क्लबलाई पाखा लगाउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गरेका थिए ।अब सुदूरपश्चिमले उपाधिका लागि मनाङ मर्स्याङदी क्लब र फ्रेन्डस क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुई बीच बिहीबार सेमिफाइनल खेल हुने छ ।
दुई विभागीय सहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुने छ ।सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।